
माडागास्करमा भइरहेको राजनीतिक संकट चरममा पुगेको छ। राष्ट्रपति एन्ड्री राजोएलीना आइतबार देश छोडी भागेको पुष्टि भएको छ। संसदका विपक्षी नेता सितेनी रान्द्रियनासोलोनियाइ, एक सैन्य अधिकारी, र एक विदेशी कूटनीतिज्ञले सोमबार यो जानकारी दिएका हुन्।
स्रोतका अनुसार, सेनाका केही युनिटहरू आन्दोलनकारी पक्षमा खुलेपछि राष्ट्रपति देश छोड्न बाध्य भएका हुन्। राष्ट्रपति कार्यालयका कर्मचारीहरूले पनि राजोएलीना देश बाहिर गएको पुष्टि गरेका छन्, तर उनी अहिले कहाँ छन् भन्ने खुलाइएको छैन।
राष्ट्रपतिले सोमबार राति फेसबुकमार्फत सम्बोधन गर्दै भनेका थिए —“म मेरो जीवन र देशको सुरक्षाका लागि सुरक्षित स्थानमा सरेको छु। तर म माडागास्कर नष्ट हुन दिने छैन।”
तर उनले राजीनामा दिन अस्वीकार गरेका छन्।
सेप्टेम्बर २५ देखि सुरु भएको प्रदर्शन पानी, बिजुली अभाव र भ्रष्टाचारविरुद्ध थियो। तर पछि आन्दोलन व्यापक बिद्रोहमा रूपान्तरण भएको छ।
स्रोतका अनुसार, अर्धसैनिक समूह ‘जेनडरमेरी’ का केही युनिटहरूले पनि आन्दोलन समर्थन गर्दै नयाँ प्रमुख नियुक्त गरेका छन्। त्यस्तै, संसदका सभामुखलाई पदमुक्त गरी जीन आन्द्रे न्द्रेमान्जारीलाई अस्थायी सभामुख बनाइएको छ।
संविधान अनुसार, यदि राष्ट्रपतिले पद छोड़े वा पद रिक्त भयो भने सेनेटका अध्यक्षले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
माडागास्करमा अहिले अवस्था अत्यन्तै अस्थिर बनेको छ, र अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेको छ।