
सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षाकर्मीहरू फिर्ता गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड विपरीत सुरक्षाकर्मीहरू राखेको र उनीहरूलाई सुरक्षाका लागि नभई घरेलु कामदारको रूपमा प्रयोग गरिएको सूचना पाएपछि यस्तो निर्णय गरेको हो।
गृह स्रोतका अनुसार, ओलीले मापदण्डविपरीत २७ जना सुरक्षाकर्मी राखेका थिए, जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्यहरू समेत छन्। तीमध्ये तीन जनासम्मलाई सवारीचालकका रूपमा प्रयोग गरिएको भेटिएको थियो।
त्यस्तै, प्रचण्डको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी छोरी गंगा दाहालको घरमा तैनाथ रहेको पाइएको छ।
स्रोतका अनुसार, ‘भीआईपीहरूको सुरक्षाका लागि खटाइएका कर्मचारीहरूलाई निजी काम, भान्साको काम र घरायसी काममा लगाइने गरेको थाहा पाएपछि मन्त्रालयले कारबाही थालेको हो।’
सरकारको निर्णयपछि एमालेको युवा संघले अध्यक्ष ओलीको सुरक्षाका लागि स्वयंसेवक परिचालन गरेको छ भने, माओवादी केन्द्रका वाईसीएल र पूर्वलडाकुहरू प्रचण्डको सुरक्षामा खटिन थालेका छन्।
गृह मन्त्रालयले अन्य पूर्वपदाधिकारीहरूले पनि मापदण्ड विपरीत सुरक्षाकर्मी राखेको उजुरी आएको भन्दै थप छानबिन गर्ने जनाएको छ।