
कैलालीको घोडाघोडी–८ मा शुक्रबार राति पसलमा रक्सी सेवनका क्रममा सुरु भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको छ। प्रहरीले १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई जिम्मेवार ठहराएको छ।
प्रहरीका अनुसार झगडा सुरु भएपछि विक र क्षेत्रीले धारिलो हतियारले केशरसिंहको घाँटी रेटेका थिए। दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । टाउको बिनाको शरीर घटनास्थल मै छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी० रमेश दत्त अवस्थीका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आएका थिए ।
“राति ११ बजेतिर एक जनाको हत्या भएको सूचना आयो । हत्यामा संलग्नहरुले नै टाउको बोकेर हतियारसहित आएका थिए,” डीएसपी अवस्थीले भने, “म स्वयं घटनास्थलमा छु । थप अनुसन्धान हुँदैछ ।”