latest
शनिबार , भाद्र १४, २०८२

भैरहवा कारागारको भौतिक संरचना हेर्दा नै यो संस्थाले “सुधारगृह”को उद्देश्य पुरा गर्न नसकेको स्पष्ट हुन्छ । २५० कैदीबन्दी अटाउने क्षमतामा ६५० भन्दा बढी कैदीलाई कोचेर राखिएको छ । एउटै हलमा ५० भन्दा बढी मानिसलाई खुट्टा पसार्नै नसक्ने गरी सुताइएको छ । जम्मा १६ वटा शौचालय, ती पनि जीर्ण र अस्वच्छ । कैदीबन्दीहरूलाई घाम ताप्ने र स्वच्छ हावा पाउने अधिकारबाट समेत वञ्चित गरिएको छ ।

यसै भीडभाडयुक्त कारागारको एउटा सानो कोठामा, पत्रकार तथा राजनीतिज्ञ रवि लामिछानेलाई सय दिनभन्दा बढी समयदेखि कोठाभित्र मात्र राखिएको छ । कारागार प्रशासनका अनुसार यो “सुरक्षा कारण” हो । तर, रविको भनाइ फरक छ—यो प्रतिशोधको परिणाम हो । अदालतले उनलाई स्थानान्तरण गर्ने अनुमति दिइसकेको भए पनि आदेश कार्यान्वयन भएको छैन ।

रवि बस्ने कोठाको अवस्था दयनीय छ । कोठाभित्रै “हाफ ट्वाइलेट” रहेको छ, जसको दुर्गन्ध खाना खाने बेलासम्म सास फेर्नै नसक्ने खालको हुन्छ । नुहाउन आवश्यक पानी बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, किनभने ट्यांकीको पानी असह्य तातो हुन्छ । गर्मीयाममा कोठा भित्र तातो र गन्ध मिसिएको हावा मात्रै छ, जसलाई दुई वटा साधारण पंखाले मात्र चलाउन सकिन्छ । उनी भन्छन्, “कहिलेकाहीँ एउटा मात्र चलाउँछु, अति गर्मी हुँदा दुइटा चलाउँछु ।”

लामो उचाइ भएकाले रविको खुट्टा छोटो खाटमा अट्दैन । उनले हाँसो–व्यंग्य गर्दै भनेका छन्, “खुट्टा पनि पुग्दैन खाटमा, यो त राज्यको दोष हो ।”

कोठाभित्र पर्दाले बीचमा भाग लगाइएको छ—एकातिर सुत्ने स्थान, अर्कातिर ट्वाइलेट । कोठामा न हावाको उचित प्रवेश छ, न घामको झुल्को । उनले मानवअधिकार आयोगका प्रतिनिधिलाई कोठामा नसुकेको रुमालको गन्धसमेत सुघाएका थिए ।

रविको भनाइमा, यहाँ केवल उनलाई मात्र होइन, सबै कैदीलाई न्यूनतम मानवीय अधिकार नदिइएको छ । “सरकारले ठूलो अपराधी होस् वा सानो, कैदीलाई खान, सुत्न र हावा पाउने आधारभूत सुविधा दिनैपर्छ ।”

मानवअधिकार आयोगको टोलीले पनि यो अवस्था “अमानवीय” भएको निष्कर्ष निकालेको छ । आयोगका प्रतिनिधिहरूले कारागार प्रशासनलाई झ्याल खोल्न, घाम र हावा पाउने व्यवस्था गर्न आग्रह गरेका छन् । प्रशासनले केही दिनमै व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।

रविको अर्को गुनासो—पत्रपत्रिका पढ्ने अधिकारबाट वञ्चित हुनु । भैरहवा कारागारमा पत्रपत्रिका आउँदैन, जसलाई जेल प्रमुखले “लिएको छैन” भनेर पुष्टि गरे । उनले भने, “रेडियो मेरो भर हो । साथीभाइले कहिलेकाहीँ किताब ल्याइदिन्छन् ।” कारागारमा लाइब्रेरी भए पनि उनी बाहिर निस्कन नपाएकाले त्यहाँका पुस्तक प्रयोग गर्न पाउँदैनन् ।

मानवअधिकार आयोगका सदस्यहरूले अन्य कैदीहरूलाई केहीबेर बाहिर क्यारेमबोर्ड खेलिरहेको देखे । तर, रवि भने लगातार सय दिनदेखि बन्द कोठामै छन् । उनले बारम्बार अदालतको आदेशअनुसार स्थानान्तरणको माग गरे पनि कारागार प्रशासनले “सुरक्षा कारण” देखाएर अस्वीकार गरेको छ ।

यो कारागार केवल एक व्यक्तिको पीडा मात्र होइन, सम्पूर्ण कैदी व्यवस्थापन प्रणालीको असफलताको प्रत्यक्ष प्रमाण हो । जब नेपालकै पूर्वगृहमन्त्रीले “मलाई घाम र हावा चाहिन्छ” भन्नुपर्छ, तब कारागार सुधारको आवश्यकता कानूनी मात्र होइन, तत्काल लागू गर्नुपर्ने मानवीय जिम्मेवारी हो भन्ने कुरा स्पष्ट हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय