
१२ फुट चौडा र ३५ फुट लामो एउटा साँघुरो कोठा। ढोकामा फलामे बार, झ्यालहरूमा प्लाइले टालिएको, उज्यालो छिर्न नपाउने, हावा सास फेर्नै मुस्किल। बाहिर भैरहवाको ४२ डिग्री तापक्रम, भित्र घामभन्दा पनि तातो पीडा। यही अँध्यारो र घामपानीले नछोएको कोठा विगत चार महिनादेखि रवि लामिछानेको संसार बनेको छ।
यो कोठा रूपन्देहीकै एक मात्र पुरुष कारागारको ब्लक नम्बर ४ भित्र पर्छ। सिद्धार्थ राजमार्गको आवारोडबाट ८० मिटर भित्र, बाक्लो बस्तीबीच, गणेश मन्दिरको छेउमा रहेको यो जेलको मुख्य ढोकाबाट छिर्नासाथ एकदमै सामान्य देखिन्छ — तर भित्रको कथा अर्कै छ।
बिहीबार, यही फलामे बार पछाडि हाफ कट्टु र गन्जीमा, पसिनाले भिजेका लामिछानेलाई भेट्न पुगेका थिए पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। भेटघाट लामो भएन, तर दृश्यले भने धेरै कुरा बोल्यो। भट्टराईले कारागारबाट बाहिरिएलगत्तै भने — “पञ्चायतकालमा पनि यस्तो अवस्था देखिएको थिएन।”
भट्टराई मात्र होइन, पछिल्ला महिनामा जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, माओवादी सांसद माधव सापकोटा, एमाले सांसद वासुदेव घिमिरेलगायतका नेताहरू भैरहवा पुगेर रविको अवस्थाबारे उस्तै पीडा व्यक्त गरिसकेका छन्। उनीहरूको आरोप एउटै — “देशको चौथो ठूलो दलको सभापतिमाथि राज्यले न्यूनतम मानवीयता पनि देखाएन।”
रविको कोठामा बाहिर हेर्ने एउटा मात्र सानो झ्याल छ, त्यो पनि प्लाइले बन्द। चार महिनामा तीनपटक मात्र कपाल काट्न बाहिर निस्कन पाएका छन्। पत्रपत्रिका पढ्ने अधिकार पनि छैन। कारागार प्रमुख सुरेश भण्डारी भन्छन् — “बजेट छैन, त्यसैले दिन सकिँदैन।”
यसबीच, सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले तोकेको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बिगो उनले शुभचिन्तकको सहयोगमा बैंक जमानतमार्फत बुझाइसकेका छन्। १४ जेठमा कारागार स्थानान्तरणको अनुमति मागेर निवेदन दिँदा पनि, १६ जेठमा अदालतले स्वीकृति दिएर आदेश गर्दा पनि, गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले उनलाई काठमाडौंको कारागारमा सार्न अस्वीकार गरेको आरोप छ।
रवि लामिछाने अब पनि भैरहवाको त्यो साँघुरो, अँध्यारो, घामले नछोएको कोठामै छन् — जहाँ दिनभन्दा लामो रात हुन्छ, र समय घडीको सूईमा हैन, पीडाको नापमा चल्छ। त्यसैले हो रविले बरु मेरो भागको बिगो तिरेर निस्किन्छु भनेको ।