प्रेमीसँगको लिभ–इन रिलेशन तोडेर पूर्वपतिसँग फर्किने प्रेमीकाको इच्छाका कारण आईतबार काठमाण्डौको कालोपुलमा एक युवकको हत्या भएको खुलेको छ।
काठमाण्डौं महानगरपालिका–७, कालोपुल स्थित दयालक्ष्मी श्रेष्ठको घरमा डेरा गरेर बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का २० वर्षीय प्रेम महत दर्जीको आईतबार साँझ हत्या भएको थियो।
प्रहरीको हालसम्मको अनुशन्धान अनुसार प्रेम र मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरकी २४ वर्षीया उषा नेपाली विगत ६ महिनादेखि त्यहाँ डेरा लिएर बसेका थिए। डेरा लिँदा उनीहरूले घरधनीलाई ‘हामी पति–पत्नी हौँ’ भनेका रहेछन्।
प्रेम र उषा दुवै विवाहित हुन। प्रेमकी पत्नी वैदेशिक रोजगारीमा गएर भर्खरै काठमाण्डौं फर्किएकी छिन्। उषाका पति २७ वर्षीय मदन रम्तेल भने श्रीमती खोज्दै छोरासहित काठमाण्डौं आएको खुलेको छ। मदन र उषाका ५ वर्षीय छोरा छन्।
यस विचमा मदन र उषाको भेट भएर सिफलमा डेरा राखी छोरालाई पढाउने सल्लाह भएको थियो। त्यसपछि उषाले प्रेमसँगको सम्वन्ध तोडेर पतिसँगै वस्ने बताईन। तर, प्रेमले स्विकृति नदिएपछि आईतबार उनीहरुको विचमा विवाद भयो।
विवाद बढ्दै गएपछि प्रेमले उषालाई कुटपिट गरेको र चक्कु समेत प्रहार गरेको खुलेको छ। चक्कु प्रहारबाट उषाको बायाँ पाखुरामा चोट लागेको छ। त्यही रिसमा आफुले ‘चपिङ बोर्ड’ले हानेको र चक्कु खोसेर अन्धाधुन्ध हानेको उनले प्रहरीलाई बताएकी छिन्।
प्रेम घट्नास्थलमै ढलेपछि उषा भने नजिकै रहेको दिदीभिनाजुको डेरामा गएर वसेको खुलेको छ। उनले घट्नाका विषयमा दिदीलाई सुनाईन। त्यसपछि उनले नै वहिनी ज्वाईँ मदनलाई बोलाएको पाईएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए।
यता, प्रेम रगताम्मे भएर ढलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा उनको मृत्यु भईसकेको थियो। अनशुन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार हत्यामा उषाको मात्रै संलग्नता देखिएको छ। घट्नास्थलमा मदन पुग्दै नपुगेको उनले जानकारी दिए।
उषालाई प्रहरीले आईतबारै पक्राउ गरेको छ।