latest
आइतबार , भाद्र १५, २०८२

साउन ९ गतेको बिहान थियो। सिन्धुलीको गोलञ्जोर–६ की उर्मिला हायु घरको ढोकाबाट बाहिर निस्कँदै थिइन्। आँखा रित्तिएको, अनुहारमा थकान, मनमा डर। श्रीमान् सानु हायुको मृत्युपछि उनी बिस्तारै मानसिक रूपमा कमजोर हुँदै गएकी थिइन्। गाउँलेहरूले कानमा फुसफुसाउँथे —“यो गाउँमा बसिस् भने तेरो श्रीमानको आत्माले खान्छ।”उनी झस्किन्थिन्, गह्रौं सास फेर्थिन्, अनि सोच्थिन् — “अब यहाँ बस्नु हुँदैन, टाढा कतै जानुपर्छ।”

त्यस दिन उनले थातथलो छाडिन्। पोखरातिर लागिन्, न त भविष्यको कुनै ठेगान थियो, न त बस्ने ठेगाना। साथमा परिवारका सदस्यहरू, तर मनभित्र अन्धकार।

११ दिन बितिसकेको थियो। उर्मिलाको गाउँ सुनसान जस्तो लाग्थ्यो, तर वडाध्यक्ष रविनकुमार श्रेष्ठको मन शान्त थिएन।
“उनीहरूलाई फर्काउनै पर्छ,” उनले ठाने।
वडाध्यक्ष पोखरा पुगे, उर्मिलासँग लामो कुरा गरे। उनी डराइरहेकी थिइन् ।

श्रेष्ठले भने —“यहाँ तपाईंको घर, तपाईंका मान्छे, तपाईंको भविष्य छ। म तपाईंको साथमा छु।”धेरै सम्झाइबुझाइपछि, उर्मिला राजी भइन्।

गाउँ फर्केर उनीहरू वडाध्यक्षको पुरानो घरमा बस्न थाले। दुई छोरा र दुई छोरीलाई गाउँकै मिनरल वाटर कम्पनीमा रोजगारी मिलाइयो — खानबस्नसहित मासिक १० हजार तलब।
अर्का एक छोराले होटलमा काम पाउने भए, मासिक १५ हजार। जेठा छोरालाई एम्बुलेन्स चालकको काम दिनेबारे छलफल चल्दैछ।

बालबालिकालाई गणेश प्राथमिक विद्यालयमा भर्ना गराइयो। उर्मिलालाई तरकारी खेती र कुखुरा पालनको जिम्मा दिइयो, ताकि उनी पनि आत्मनिर्भर बनून्।

फर्किएको केही दिनमै उर्मिलाको मुहारमा हाँसो फर्किन थाल्यो।“अब डर लाग्दैन,” उनले मुस्कुराउँदै भनिन्,“गाउँको बीचमा बस्छौँ, छोराछोरी सबैको काम भएको छ। अब सन्चो हुन्छ भन्ने ढुक्क छ।” उनको नातिनी पनि बिरामी अवस्थाबाट बिस्तारै निको हुँदै गइरहेकी छिन्।

वडाध्यक्ष भन्छन् —“दसैँपछि उनीहरूको लागि नयाँ घर बनाउँछु। केही समय काउन्सेलिङ गरेर सबैको मनबाट डर हटाउँछु।”

उर्मिला अब दृढ आवाजमा भन्छिन् —“हामी कतै हिँड्ने मान्छे हैनौँ। काम विशेषले जानुपरे छुट्टै कुरा, नत्र अब कहिल्यै गाउँ छोड्दैनौँ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय