latest
बुधबार , भाद्र १८, २०८२

भैरहवा- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेट्दा ‘सूचनाबाट बञ्चित’ गरिएको अवस्था देखेर असन्तुष्टि जनाएका छन्।

रवि लामिछानेलाई भेट्न जिल्ला कारागार पुगेका भट्टराईले उनीलाई पत्रपत्रिका समेत पढ्न नदिएको देखेपछि “पञ्चायतकालमा पनि पत्रिका पढ्थ्यौं, अहिले पनि यो अवस्था?” भन्दै आश्चर्य व्यक्त गरे।

“मैले प्रहरीसँग सोध्दा उहाँले आदेश नै छैन भन्नुभयो। यस्तो त पञ्चायतकालमा पनि हुन्नथ्यो,” – भट्टराई।

उनले रविलाई एक्लै कोठामा राखिएको, बस्ने ठाउँ साँघुरो रहेको, र सूचनाबाट पूर्णतः अलग गरिएको अवस्थाले आफूलाई असहज बनाएको प्रतिक्रिया दिए। उनले यो विषयमा सम्बन्धित उच्च निकायसँग कुरा गर्ने बताए।

भट्टराईले लामिछानेलाई भेटपछिको पत्रकार भेटमा भने, “उनी निर्वाचित सांसद हुन्, भाग्ने सम्भावना छैन। यस्तो अवस्थामा थुनामा राखिरहनु आवश्यक छैन।”

उनका अनुसार रविलाई थुनाबाहिर राखेर मुद्दा लड्न दिनु न्यायिक दृष्टिकोणले उपयुक्त हुन्छ। उनले यो विषयमा सभामुखलाई पनि सुझाव दिइसकेको जानकारी दिए — “सांसद पद खारेज गरेर नयाँ चुनाव गराउने वा जमानतमा रिहा गरेर जनताको सेवा गर्न दिने — दुवै विकल्प सभामुखलाई भनेको छु।”

भट्टराईले रविलाई भेट्नुको कारण राजनीतिक सद्भाव भएको बताए। साथसाथै, उनले सरकारमाथि रविविरुद्ध प्रतिशोध साँधिरहेको आरोप पनि लगाए।

“उनी राजनीतिक बन्दी हुन्। सरकारको यो व्यवहार द्वेषपूर्ण देखिन्छ। न्यायको पक्षमा उभिनु हाम्रो कर्तव्य हो,” – भट्टराई।

भट्टराई रविको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा पनि सहभागी भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय