latest
बुधबार , भाद्र १८, २०८२

काठमाडौंको माछापोखरीस्थित राजधानी रोधीघरमा मध्यरातमा गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति करिब १२:४० बजेको समयमा उनीहरूले युवतीमाथि अश्लील हर्कत, हातपातको प्रयास र धारिलो हतियार प्रदर्शन गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले रोधीघरमा कार्यरत एक युवतीमाथि दुर्व्यवहार गर्दै धाकधम्की र अश्लील व्यवहार गरेका थिए। घटनापछि प्रहरी बोलाइएपछि उनीहरूलाई रोधीघर बाहिरैबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा: दीपक कार्की (३७) – मकवानपुर हेटौँडा उपमहानगरपालिका–५, हाल टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट, निरज गुरुङ – नुवाकोट ककनी गाउँपालिका–५, हाल टोखा नगरपालिका–३, रोशन डंगोल (२८) – टोखा सरस्वती टोल , रोहन डंगोल (२४) – टोखा गणेशस्थान रहेका छन् ।

उनीहरूलाई राति १ बजे पक्राउ गरिएको थियो। पीडित युवतीलाई तत्कालै बोलाई सनाखत समेत गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेकामध्ये निरज गुरुङ र रोशन डंगोल पूर्वपटक पक्राउ परेका पटके अभियुक्त रहेको खुलेको छ।

रोशन डंगोलको अपराध रेकर्ड:
२०७३ फागुन ६ – सार्वजनिक अपराध

२०८० चैत २२ – ज्यान मार्ने उद्योग (प्रहरी वृत्त महाराजगञ्ज)

निरज गुरुङको अपराध रेकर्ड:
२०७६ पुस २२ – पक्राउ (महाराजगञ्ज)

२०८० असोज ५, असार १७, २०८१ असोज ७ – अभद्र व्यवहार (बालाजु, लैनचौर)

२०८१ असोज २४ – ज्यान मार्ने उद्योग (महाराजगञ्ज)

प्रहरीका अनुसार पीडित युवती कला क्षेत्रमा सक्रिय रहेको र घटना बेलामा आफ्नो दाइको रोधीघरमा पुगेकी थिइन्। सोही समयमा चार युवाले दुव्र्यवहार र धम्कीपूर्ण व्यवहार गरेका थिए। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानपछि प्रचलित कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय