
भारतको बिहार राज्यको जमुई जिल्लाबाट अचम्मको घटना सार्वजनिक भएको छ। जयपुरमा प्लम्बरको रूपमा काम गर्ने टेनी माझी नामक मजदुरको बैंक खातामा यति धेरै रकम देखिएको छ कि त्यो गन्न नै गाह्रो परेको छ। तर, यति ठूलो रकम देखिए पनि उनले आफ्ना बुबाको उपचारको लागि एक हजार रुपैयाँ पनि पठाउन सकेनन्। कारण हो – बैंकले खाता फ्रिज गर्नु।
टेनी माझीको बैंक खातामा देखिएको रकम हो —₹10,01,35,60,00,00,00,50,01,00,23,56,00,00,00,28,884 (संख्यात्मक रूपमा यसलाई के भन्न मिल्छ भन्नेमा बैंककै कर्मचारीहरू समेत अन्योलमा छन्।)
स्क्रिनसट अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। कसैले गल्तीले ट्रान्सफर भएको हो कि? भन्ने प्रश्न उठाएका छन् भने कसैले साइबर फ्रडको जाल हुन सक्ने शंका व्यक्त गरेका छन्।
टेनी माझी बिहारको जमुई जिल्लाको अछारी गाउँ निवासी हुन्। अहिले जयपुरमा प्लम्बरको रूपमा ज्यालादारी काम गर्छन्। उनको बुबा कालेश्वर माझी पनि मजदुरकै पेशामा छन्।
टेनीका बुबा बिरामी परेपछि उनले आफ्नो बैंक खाताबाट घरमा पैसा पठाउने प्रयास गरेका थिए। तर, बैंकले खाता ‘फ्रिज’ गरेपछि त्यो सम्भव भएन।
कालेश्वर माझीले भने, “हामीलाई त्यो पैसाको लोभ छैन, जसले पठायो उसैले फिर्ता लैजाओस्, तर छोराको खाता चल्नुपर्यो।”
टेनी माझीले मुम्बईमा काम गर्ने क्रममा कोटक महिन्द्रा बैंकमा खाता खोलेका थिए। अहिले उनी जयपुरमा बस्दै आएका छन्। बैंकमा देखिएको अत्यधिक रकम देखेर उनी आफैँ पनि अचम्ममा छन्।
“मलाई यो पैसा कहाँबाट आयो, थाहा छैन,” टेनीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
टेनी माझीको परिवार अहिले ठूलो तनावमा छ। पैसा कसरी आयो? यो गल्ती हो कि ठगी? बैंक वा साइबर अपराध शाखाले छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन्।