
स्याङ्जा – लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जाको सिद्धार्थ राजमार्गमा दुर्घटना भएको छ। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार भीरकोट नगरपालिका–२ स्थित एक कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेका अनुसार,“कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको हो। सामान्य दुर्घटना हो। कारमा सवार चारै जनालाई ठूलो चोट लागेको छैन।”
दुर्घटनामा गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ। अन्य तीन जना सवारीमा सवार व्यक्तिहरू सामान्य घाइते भएका छन्। कारमा सामान्य क्षति पुगेको प्रहरी स्रोतको भनाइ छ।
घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्याइएको छ। गायक शर्माको अवस्था अहिले नियन्त्रणमा रहेको र खतरा टरेको बताइएको छ।
गायक पशुपति शर्मा स्याङ्जाको वालिङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा सहभागी हुन गइरहेका थिए। त्यही क्रममा पोखराबाट वालिङ जाँदै गर्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार, दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।सिद्धार्थ राजमार्गमा खतरनाक मोड, संकुचित सडक र कमजोर संरचनाका कारण बारम्बार दुर्घटना हुने गरेको जनाइएको छ।