
काठमाडौं, भक्तपुर- नेकपा एमालेको छत्र छायामा रहेका गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) एक वर्षअघि भक्तपुरमा भएको सांघातिक कुटपिट घटनामा संलग्न रहेको प्रमाण फेला परेको छ। २०८१ भदौ ४ गते राति भएको उक्त आक्रमणप्रकरणमा अब भक्तपुर प्रहरीले औपचारिक रूपमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ।
भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार, काठमाडौँ प्रहरीको हिरासतमा रहेका चक्रेविरुद्ध कुटपिटसम्बन्धी मुद्दा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको हो। हाल उनी जन्मदिनको बहानामा हुलदंगा र अभद्र व्यवहारको अभियोगमा पक्राउ परी भद्रकालीस्थित प्रहरी हिरासतमा छन्।
२०८१ भदौ ४ गते मनिष रायमाझीमाथि भएको आक्रमणमा चक्रे समूहको संलग्नता पुष्टि भएको हो। रायमाझीले सामाजिक सञ्जालमा ‘डुँडे’ लेख्दै चक्रेलाई होच्याएको आरोपमा चक्रे आफैंले उनलाई फोन गरेर धम्क्याएका थिए। त्यसपछि चक्रे मिलनका सहयोगी अजित खवाससहितको टोलीले रायमाझीमाथि सांघातिक आक्रमण गरेको थियो।
सोही घटनाको आधारमा रायमाझीले २०८१ असोज ९ गते भक्तपुर जिल्ला अदालतमा जाहेरी दिएका थिए। जाहेरीमा प्रतिवादीको रूपमा पहिलो नाम चक्रे मिलनकै थियो तर ठेगाना नखुलेका कारण त्यसबेला मुद्दा अघि बढ्न सकेन।
प्रहरीका अनुसार चक्रे मिलन नै उक्त जाहेरीमा उल्लेखित व्यक्ति हुन् भन्ने कुरा अहिले पुष्टि भइसकेको छ।मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ अनुसार अभियोगपत्र दर्ता गरी भक्तपुरमा मुद्दा चलाइने तयारी हो।
थिमी प्रहरी वृत्तका डीएसपी नवराज ढुंगानाका अनुसार,“रायमाझीमाथि आक्रमण गर्ने टोलीमा चक्रे समूहका अरू सदस्य पनि थिए। उनीहरूको पहिचानका लागि अनुसन्धान अगाडि बढिरहेको छ।”
हाल भद्रकाली प्रहरी परिसरमा रहेका १९ जना प्रतिवादीभित्रै उक्त घटनामा संलग्न अन्य व्यक्ति हुन सक्ने आशंका प्रहरीले गरेको छ।
डीएसपी न्यौपानेले भने,“काठमाडौँमा चलिरहेको मुद्दा टुंगिएपछि चक्रे मिलनलाई भक्तपुर ल्याउने र कुटपिटसम्बन्धी घटनामा विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ।”