latest
सोमबार , भाद्र १६, २०८२

मोरङ— बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भइसकेका अर्थराज कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

५९ वर्षीय कोइराला सुनसरीको वराह क्षेत्र नगरपालिका निवासी हुन्। उनी रास्वपाले सञ्चालन गरिरहेको ६० दिने हस्ताक्षर संकलन अभियानमा सहभागी हुन मोरङको महेन्द्रचोक पुगेका बेला पहिचान भएपछि नियन्त्रणमा लिइएका हुन्।

मोरङ प्रहरीले दिएको जानकारी अनुसार कार्यक्रम सकिएपछि कोणसभाको तयारीमा रहेको टोली महेन्द्रचोक पुगेको थियो। सो क्रममा कोइरालाले हस्ताक्षर गर्न खोज्दा उनका विषयमा पुरानो फैसलाबारे थाहा पाएपछि रास्वपाका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।

सुनसरी जिल्ला अदालतले कोइरालालाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै असार ३२ गते दुई वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तथा ११ वर्षीया पीडित बालिकालाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। यद्यपि, अदालतको पुनरावेदनको व्यवस्था खुला भए पनि फैसलापछि उनी फरार थिए।

नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।

प्रहरीका अनुसार कोइराला विगतमा अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका थिए र केही समयअघि नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि उनी धरौटीमा छुटेका थिए।

हाल उनी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा छन्। प्रहरीका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय