
तनहुँ — तनहुँको भानु नगरपालिका–२, भकुन्थोकबाट एकैदिन तीन किशोरी बेपत्ता भएका छन्। उनीहरूको मोबाइल फोनको अन्तिम लोकेसन पोखरा देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेपत्ता हुनेमा: अस्मिता तामाङ (१५ वर्ष), सम्झना सुनार (१६ वर्ष) , सीता सुनार (१५ वर्ष)रहेका छन्। ती किशोरीहरू सोमबार बिहान विद्यालय जान भन्दै घरबाट निस्किए पनि विद्यालय नगई बेपत्ता भएका हुन्।
परिवारजनका अनुसार तीनै जना बिहान सँगै विद्यालय जान हिँडेका थिए। तर विद्यालयमा नपुगेको जानकारी पाउनेबित्तिकै परिवारले उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। साँझसम्म पनि फोन सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको थियो।
अन्ततः इलाका प्रहरी कार्यालय भानुमा खोजीका लागि निवेदन दर्ता गरिएको छ।
प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार, “तीनै जनाको मोबाइल ट्र्याक गर्दा अन्तिम लोकेसन पोखरा देखिएको छ। हामी अहिले त्यो आधारमा खोजी कार्यलाई अगाडि बढाइरहेका छौं।”
उनले आवश्यक परेमा पोखरा क्षेत्रमै खोजी टोली पठाउने तयारी भइरहेको जानकारी दिए।