latest
बुधबार , भाद्र १८, २०८२

पोखरा — सामाजिक अभियन्ता बताउँदै विभिन्न सामाजिक विषयमा सक्रिय देखिएकी शर्मिला वाइबा साइबर अपराधको मुद्दामा पक्राउ परेकी छन्। उनलाई पोखराको लेकसाइडस्थित एक होटलबाट कास्की प्रहरीले पक्राउ गरेको हो।

साइबर क्राइमसम्बन्धी उजुरी परेपछि काठमाडौंस्थित नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थाल्दै वाइबाको नाममा पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी प्राप्त भएपछि ब्युरोले कास्की प्रहरीलाई उनलाई पक्राउ गरेर काठमाडौं पठाउन निर्देशन दिएको थियो।

प्रहरी स्रोतका अनुसार वाइबालाई आजै विमानमार्फत काठमाडौं ल्याइँदैछ, जहाँ साइबर ब्युरोले थप अनुसन्धान अघि बढाउनेछ।

शर्मिला वाइबामाथि एक महिलालाई लक्षित गरी सामाजिक सञ्जालमा जथाभावी र आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ। पीडित महिलाले प्रहरीको साइबर ब्युरोमा औपचारिक जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा वाइबामाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया सुरु गरिएको हो।

वाइबा पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय थिइन्। विभिन्न समसामयिक मुद्दा, महिला अधिकार, जातीयता, तथा राज्य व्यवस्थाप्रति आलोचनात्मक टिप्पणीहरू दिँदै आएकी वाइबा विवादित बक्तव्य र भिडिओका कारण बारम्बार चर्चामा आइरहेकी थिइन्। समर्थकहरू उनलाई “निडर आवाज” भन्न रुचाउँछन् भने आलोचकहरू “सनसनी फैलाउने पात्र” का रूपमा चित्रित गर्छन्।

कास्की प्रहरीले उनलाई पक्राउ गरेर आवश्यक प्रक्रिया पूरा गर्दै काठमाडौंस्थित साइबर ब्युरोमा बुझाउने तयारी गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वाइबामाथि विद्युतीय सञ्चारमार्फत मानहानी, अभद्र व्यवहार र साइबर दुरुपयोगसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीले हालसालै सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बढेको साइबर अपराध नियन्त्रण गर्न देशैभर निगरानी कडा बनाएको छ। यसै सन्दर्भमा वाइबामाथि कारबाही थालिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय