
काठमाडौं — भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको भीषण बाढीले सिंगो बस्ती ३५ सेकेन्डमै बगाएको छ। खीरगंगा नदीको माथिल्लो क्षेत्रमा आएको बादल फाटी (क्लाउडबर्स्ट) ले गाउँमा विनाश ल्याएको हो।
टाइम्स अफ इन्डियाका अनुसार उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धराली गाउँमा कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। यद्यपि, अझै धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ। बाढीमा लेदो र भारी पानीको बहावसँगै संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन्।
घटनास्थल आसपासका क्षेत्रमा धेरै साना होटल, गेस्ट हाउस र रेस्टुरेन्टहरू रहेको अधिकारी अर्याले बताएका छन्। तिनै संरचनाहरू बाढीले बगाएको दृश्यले स्थिति भयावह रहेको स्पष्ट संकेत गर्छ।
घटनापछि खोज तथा उद्धारका लागि भारतीय सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) र राज्य विपद् प्रतिक्रिया बल (SDRF) का टोलीहरू तत्काल परिचालन गरिएको छ। बाढीपछि सडक सम्पर्क विच्छेद, बिजुली अवरुद्ध र संचार प्रणाली प्रभावित भएको बताइएको छ।
भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोन वार्ता गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले केन्द्र सरकारबाट सबै सम्भव सहयोग प्रदान गरिने आश्वासनसमेत दिएका छन्।
बाढीबाट भएको जनधनको क्षति अझै पूर्णरूपमा यकिन भइसकेको छैन। स्थानिय प्रशासन र उद्धार टोलीहरू उद्दार कार्यमा खटिएका छन् भने मौसम विभागले अझै सम्भावित वर्षाको चेतावनी जारी गरेको छ।