
विराटनगर — लामो समयदेखि कोशी प्रदेशमा टाउको दुखाइ बनेको ट्रान्सफर्मर चोरीमा संलग्न ठुलो गिरोहको पर्दाफास भएको छ।
प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा गत माघ दोस्रो सातादेखि ट्रान्सफर्मर चोरीको घटना एकाएक बढ्न थालेपछि प्रहरी निकै दबाबमा थियो। अन्ततः साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ मा चोरीका लागि पुगेका एक व्यक्तिको पक्राउसँगै प्रहरी उक्त गिरोहसम्म पुग्न सफल भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार पत्रकार सम्मेलनमार्फत चोरीमा संलग्न ७ जनाको नाम सार्वजनिक गरेको छ। यिनले योजनाबद्ध रूपमा २२ वटा ट्रान्सफर्मर चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो। ट्रान्सफर्मरभित्रको तामाको तार, तेललगायतका सामग्री चोरेर उच्च मूल्यमा बिक्री गरिंदै आएको प्रहरीले जनाएको छ।
डीआईजी ईश्वर कार्कीका अनुसार माघ १५ यता सुनसरीमा १२, मोरङमा ८ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन्। चोरिएको ट्रान्सफर्मरहरूको कुल मूल्य करिब २ करोड रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ।
पक्राउ परेका ७ जना गिरोह सदस्यहरू:
अर्जुनकुमार माझी (चौधरी), ४२, मोरङ, ग्रामथान–४
इरज धामी, ३१, ग्रामथान–५
अनुज विश्वास (चौधरी), ३५, सुनसरी, दुहबी–३
प्रयागकुमार खाँ चौधरी, ३९, दुहबी–२
अर्जुन चौधरी, २६, मोरङ, बेलबारी–४
रञ्जित तामाङ, २७, बेलबारी–३
आलम मिया, ३४, भारत निवासी, हाल दुहबी–४ स्थित ससुरालीमा बसोबास
चोरी गरिएको सामान किनेर कारोबारमा संलग्न रहेको आरोपमा ५ जनालाई पनि नियन्त्रणमा लिइएको छ:
लक्ष्य प्रधान, ५३, विराटनगर–३
कृष्णगोपाल ताम्राकार, ६२, विराटनगर–६
योगेश अग्रवाल, ३२, दुहबी–३
कपिल भट्ट, ३१, दुहबी–२
सीताराम राई, ३९, इटहरी–४
गिरोहले चोरीमा प्रयोग गरेको औजारहरू पनि प्रहरीले बरामद गरेको छ, जसमा डायल रेन्च २२ थान, सलाई रेन्च ३, पिलास ३, पेचकस ३, छिनो, साङली, कैची, ह्याक्सो ब्लेडलगायत छन्।
त्यस्तै चोरीमा प्रयोग भएका १ वटा पिकअप गाडी र ५ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। ती सवारीसाधनका नम्बरहरू यस्ता छन्:
पिकअप: को १ च ७७२९
मोटरसाइकलहरू:
प्रदेश १–०२–०५० प ७०९५
प्रदेश १–०२–०५६ प ५५८०
को २ प ९२९०
प्रदेश १–०२–०५० प ३०४९
को २९ प ४५४४
गिरोहको पहिचान र पक्राउका लागि प्रदेश प्रहरी कार्यालय विराटनगर, सुनसरी, मोरङ र झापा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली परिचालित गरिएको थियो। डीआईजी कार्कीका अनुसार गिरोह सञ्जाल अझै विस्तृत हुनसक्ने भएकाले अनुसन्धान जारी छ।