
काठमाडौं — सुरुमा अशोक लामाले खुकुरी प्रहार गरेको भनेर सार्वजनिक गरिएको बौद्धको घटनामा नयाँ खुलासा भएको छ। अनुसन्धानले देखाएको छ कि वास्तविक आक्रमणकारी अर्कै व्यक्ति, लोप्साङ तामाङ हुन्।
साउन १२ गते राति करिब १० बजे गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा मोटरसाइकलमा हिँडिरहेका २९ वर्षीय जित मोक्तानमाथि खुकुरी प्रहार गरिएको थियो। काभ्रेको रोशी गाउँपालिका–१० घर भई हाल नयाँ बस्तीमा बस्दै आएका जितको दायाँ पाखुरा र ढाडमा गम्भीर चोट लागेको थियो।
घटनापछि सुरुमा अशोक लामाको नाम आक्रमणमा जोडिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको पछिल्लो अनुसन्धानमा अशोक होइन, २५ वर्षीय लोप्साङ तामाङ घटनामा संलग्न भएको प्रमाणित भएको छ। लोप्साङ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल नारायणटारमा बस्दै आएका छन्। हाल उनी फरार छन् र उनको खोजी तीव्र पारिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पुरानो व्यक्तिगत रिसइबी रहेको बताएको छ। केही समयअघि लोप्साङका बुवालाई जित मोक्तानको समूहले आक्रमण गरेको थियो। त्यसको बदला स्वरूप लोप्साङले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। उनीहरूबीच पहिले जुवा खेल्दा विवाद भएको समेत खुलेको छ।
खुकुरी प्रहार भएको भोलिपल्ट, साउन १३ गते घाइते जित मोक्तानका समर्थकहरूले प्रतिशोधस्वरूप लोप्साङका आफन्त अशोक तामाङमाथि आक्रमण गरे। सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–४ का ५३ वर्षीय अशोक नारायणटारमा बस्दै आएका थिए। आक्रमणमा गम्भीर घाइते भएका उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
फरार लोप्साङ तामाङको खोजीका क्रममा प्रहरीमाथि समेत आक्रमण भएको छ। साउन १३ गते इन्स्पेक्टर वाङ्गेल लामाको टोली नारायणटारस्थित एक घरमा खानतलासी गर्न जाँदा अवरोध पुर्याइएको थियो। प्रहरीमाथि हातपात गरेको आरोपमा पाँचपोखरी गाउँपालिका–३ की ३७ वर्षीया मीना स्याङ्बो पक्राउ परेकी छन्।
घाइते जित मोक्तानको ललितपुरस्थित बीएन्डीबी अस्पतालमा उपचार भइरहेको छ भने लोप्साङ तामाङ अझै फरार छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र लोप्साङको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ।