
सिन्धुली ।घर छाडेर पोखरा पुगेको उर्मिला हायुको परिवार ११ दिनपछि आफ्नै गाउँ सिन्धुली फर्किएको छ। गोलान्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा उनीहरू सोमबार घर फर्किएका हुन्।
तर, फर्किए पनि उनीहरूले पुरानो घरमा बस्न अस्वीकार गरेका छन्। पुरानो घर अत्यन्तै दुर्गम ठाउँमा रहेको, बिरामी हुँदा स्वास्थ्य सेवा पाउन कठिन हुने, तथा त्यस ठाउँमा लगातार बिरामी हुने गरेको भन्दै उनीहरूले फेरि त्यही घर फर्किन नमानेका हुन्।
वडाध्यक्ष श्रेष्ठले तत्कालका लागि आफ्नै घरमा राख्ने र पछि नयाँ घर बनाइदिने सहमति गरेर परिवारलाई गाउँ फर्काएका हुन्।“अब उहाँहरू पहिलेको घरमा जानुहुन्न,” श्रेष्ठले भने, “तत्काल मेरै घरमा बस्नुहुन्छ। जग्गा खोजेर नयाँ घर बनाइदिन्छौं, अनि त्यहाँ सर्नुहुन्छ।”
साउन ८ गते राति उर्मिला हायुको परिवारका १६ जना सदस्य र तीन जना आफन्त गरी १९ जना गाडी चढेर पोखरा पुगेका थिए। उनीहरूले एक होटलमा रात बिताएपछि भोलिपल्ट गगनगौंडामा दुई घरमा बास बसेका थिए। खोजीका क्रममा प्रहरीले राति नै उनीहरूलाई फेला पारेको थियो।
सोमबार बिहान मात्रै वडाध्यक्ष श्रेष्ठ पोखरा पुगेका थिए। त्यसपछि सार्वजनिक बसमार्फत मुग्लिन हुँदै उनीहरूलाई सिन्धुली ल्याइएको हो। फर्किने क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनीहरूलाई विदाइ गरेका थिए।
वडाध्यक्ष श्रेष्ठका अनुसार, परिवार आर्थिक रूपमा पनि समस्यामा थियो।“छोरालाई विदेश पठाउने क्रममा र घरखर्चका कारण उनीहरूले करिब साढे ८ लाख रुपैयाँ ऋण लागेको रहेछ,” श्रेष्ठले बताए।वडाले स्थानीय सहयोगमा त्यो ऋण तिर्ने समन्वय समेत गरिरहेको जानकारी दिएका छन्।
नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता अन्तर्गत गोलान्जोर गाउँपालिकाबाट हायु परिवारले प्रति व्यक्ति मासिक ४ हजार रुपैयाँ पाउँदै आएका थिए। तर, गाउँको दुर्गमता, स्वास्थ्य सेवाको अभाव, र नियमित बिरामी हुने समस्याले गर्दा उनीहरूले गाउँ छाड्ने कठोर निर्णय गर्नुपरेको थियो।
वडाध्यक्षको सक्रियतामा उनीहरूलाई सुरक्षित, सहज र नयाँ आशा लिएर पुनः गाउँ फर्काइएको छ।