latest
सोमबार , भाद्र १६, २०८२

कञ्चनपुर, बेलडाँडी ।घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्टको आत्महत्या प्रकरणमा प्रहरीले सासू र ससुरालाई पनि पक्राउ गरेको छ। मृतकका श्रीमान् पवन भट्टलाई भने यसअघि नै नियन्त्रणमा लिइसकिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार सम्झनाका सासू किरण भट्ट र ससुरा हरिदत्त भट्टलाई आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको हो। श्रीमान् पवन भट्टलाई भने आइतबार नै पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो।

सम्झनाका माइती पक्षले श्रीमान् र उनका परिवारले घरेलु हिंसा, मानसिक यातना र दाइजोको निहुँमा यातना दिँदै आएको आरोप लगाएका छन्। उनीहरूका अनुसार निरन्तर हिंसाले थकित भएर सम्झनाले आत्महत्याको बाटो रोजेकी हुन्।

सम्झना आइतबार आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

१७ वर्षीया सम्झना र २४ वर्षीय पवन भट्टले करिब ६ महिनाअघि प्रेम विवाह गरेका थिए। तर विवाहपछि दाम्पत्य सम्बन्धमा चिसोपन देखिएको थियो। शनिबार दुवैबीच झगडा भएपछि प्रहरी चौकी पुगेका थिए। त्यसपछि दुवैलाई सम्झाई–बुझाई घर पठाइएको प्रहरीले जनाएको छ। तर भोलिपल्ट सम्झना मृत अवस्थामा भेटिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय