
भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एक पतिले क्रूरता प्रदर्शन गर्दै आफ्नी श्रीमतीको नाक टोकेर काटेका छन्। माइत गएकी श्रीमती घर फर्किन नमानेपछि रिसको आवेगमा उनले यस्तो घिनलाग्दो हिंसा गरेका हुन्।
कालिनापुर्वा गाउँकी ३५ वर्षीया गुड्डी देवीको करिब १४ वर्षअघि काजी टोला निवासी पप्पुसँग विवाह भएको थियो। विवाहपछि पति पप्पु लागूपदार्थमा लत लाग्दै गए र श्रीमतीसँग पटक–पटक झगडा हुन थाल्यो। निरन्तर हिंसाबाट थाकेर गुड्डी माइत फर्किएकी थिइन् र अन्य घरमा काम गरेर जीविका चलाउँदै आएकी थिइन्।
घटनाका दिन गुड्डी काम सकेर घर फर्किँदै गर्दा पप्पुले उनलाई बाटोमा रोक्दै फेरि सँगै बस्न आग्रह गरे। गुड्डीले अस्वीकार गरेपछि पप्पु बिथोलिए। उनले गुड्डीलाई खेत नजिकको झाडीमा घिसार्दै लगे र घाँटी थिचेर कुटपिट गरे। त्यसपछि दाँतले नाक टोकेर काटे र टुक्रिएको नाक लिएर भागे।
गम्भीर अवस्थामा रहेकी गुड्डीलाई तत्काल जिल्ला अस्पताल लगियो। त्यहाँबाट प्राथमिक उपचारपछि उनलाई कानपुर रेफर गरिएको छ। गुड्डीको उजुरीपछि प्रहरीले पप्पुविरुद्ध मुद्दा दर्ता गरेर खोजी सुरु गरेको बताइएको छ।
गुड्डीमाथि हिंसाको यो पहिलो घटना भने होइन। करिब तीन वर्षअघि पनि पप्पुले बस स्टप नजिकै उनलाई धारिलो हतियारले बारम्बार प्रहार गरेका थिए। त्यतिबेला पनि उनी माइत जाँदै गरेकी थिइन्। सो आक्रमणपछि पप्पुलाई जेल चलान गरिएको थियो, तर जमानतमा छुटेपछि उनले पुनः हिंसात्मक व्यवहार दोहोर्याएका छन्।
स्थानीय प्रशासनले घटनाको गम्भीरता बुझेको बताइए पनि यसअघि बारम्बार आक्रमण हुँदा पनि पप्पु स्वतन्त्र रुपमा हिँड्न पाउनु, कानुनी संयन्त्रको कमजोरीको स्पष्ट संकेत हो।