
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने तयारीमा जुटेको छ।
प्रवक्ता उद्धव पुडासैनीका अनुसार, उक्त आदेश प्रचलित कानून र न्यायका मान्य सिद्धान्तविपरीत रहेको निष्कर्षसहित सर्वोच्चमा आदेश बदरको माग गर्दै निवेदन दर्ता गरिनेछ।
“यस्तो आदेशले विधिको शासन प्रवर्द्धन गर्दैन भन्ने ठहरका साथ हामी सर्वोच्च अदालत जाँदैछौं,” – प्रवक्ता पुडासैनी
त्यसका लागि उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई आवश्यक अध्ययन र कानुनी रायसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ।
उच्च अदालत पाटनले आइतबार प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशपछि सामाजिक र कानुनी वृत्तमा आलोचना चुलिएको छ।
अब सर्वोच्च अदालतमा हुने बहसले उक्त आदेशको वैधता पुनः परीक्षणमा पर्ने छ।