
पाँचथर — पाँच दिनदेखि बेपत्ता रहेका पाँचथर याङवरक गाउँपालिका–१ विरुवाका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्।
विरुवा खोलाको फरक–फरक स्थानमा १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
शुक्रवार विद्यालय जान निस्किएका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। खोजी कार्यमा प्रहरी र स्थानीय टोली परिचालन भए पनि पाँच दिनपछि मात्रै उनीहरूको शव भेटिएको हो।
बहिनी नानुमा राईको शव खोलाको केही तलतिर र दाजु शिशिरको शव केही माथिपट्टि फेला परेको बताइएको छ।उनीहरू पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र कक्षा–१ मा अध्ययनरत थिए।
शवलाई पोस्टमार्टमको लागि फिदिम ल्याउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।