latest
बुधबार , भाद्र १८, २०८२

धनगढी नजिकैको एउटा सानो बजार — बौनिया। त्यहाँको एउटा सामान्य होटल — राजधानी सेकुवा एण्ड म:म सेन्टर। त्यहाँ भर्खरै काम गर्न आएकी थिइन् १७ वर्षीया याचना सेजुवाल।
तिनको सपना सानो थियो — आत्मनिर्भर बन्ने, केही कमाउने, अनि परिवारको बोझ हलुका बनाउने अनि जीवनलाई केही दिशा दिने।

तर त्यो सपना १५ दिनमै चक्कुको धारले उडाईदियो ।

याचना केही दिनदेखि त्यही होटलमा वेटरको रूपमा काम गर्दै आएकी थिइन्। होटलमा काम गर्न थालेको केही दिनमै उनको भेट भयो निरज साउदसँग — ३३ वर्षे, त्यहीँको कुक।
दुई सन्तानका बाबु। श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेका। जीवनको दोश्रो अध्याय खोज्दै थिए उनी। काम गर्न थालेको दोस्रो–तेस्रो दिनमै भान्सामा मासु काट्दै गरेका ३३ वर्षे निरज साउदसँग चिनजान भयो। चुपचाप बोल्ने, बढी नहास्ने याचनालाई साउदको हल्का हाँसो, काममा सहयोग गर्ने बानी, र धेरै कुराहरू मन परे।शायद त्यो मन पर्ने कुरा प्रेममा बदलियो — उनीहरू आफैंलाई थाहा नहुन्जेल।

श्रीमतीसँग टुटिसकेको सम्बन्धउसले याचनामा फेरि जीवनको अवसर देख्यो, नयाँ साथ, सायद बाँकी जीवन बिताउने सोच।

“उसले मसँग विवाह गर्ने भनेकी थिई,” प्रहरी समक्ष साउदको बयान थियो, “तर ऊ अरूसँग पनि कुरा गर्थी। भिडियो कल, फोन, म सहन सकिनँ।”

शनिबारको बिहान। बिहानको घाम होटलको टिनको छानामा ठोक्किंदै थिए , तर भान्साभित्र तात्तिएको थियो — भान्सा मात्रै होइन, दुई जनाको सम्बन्ध पनि।

भान्साकोठामा उनीहरू दुई मात्र थिए। दैनिक झैं काम गरिरहेका थिए — याचनाले तरकारी काट्दै थिइन्, साउदले मासु। तर त्यहीँ कताबाट सुरु भयो झगडा। कुरा कलको थियो, संवादको विश्वासको, र, अन्ततः धोका महसुसको।

रिसको क्षण — त्यो क्षण जहाँ विचार हुँदैन, केवल आवेग बोल्छ। निरजले चक्कु उठायो, र याचनाको घाँटीमा प्रहार गर्‍यो।

जहाँ प्रेमले आँखा झिम्क्याएको थियो, त्यहीँ याचनाको शरीर लडेको थियो ।

काउन्टरमा बसेका होटल सञ्चालकलाई थाहा त तब भयो, जब भान्साबाट निस्किएको कोलाहलले हल्लायो। याचनालाई तुरुन्तै निसर्ग अस्पताल लगियो — तर अस्पतालको शैयामा उनले केही बोलेनन्, केही मागिनन्, बस् आँखा नै नखोली रहिन्। डाक्टरले केही बेरमै घोषणा गरे — “अब छैनन्।”

साउद अहिले प्रहरी हिरासतमा छन्। उनले अपराध स्वीकारेका छन्। पछुतो व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय