
काठमाडौँ, नेपालतर्फ मनसुनको न्यूनचापीय रेखा सर्ने क्रममा रहेकाले आजदेखि कम्तीमा तीन दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना रहेको मौसमविद्हarko भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुन प्रणाली अहिले सरदर स्थानभन्दा उत्तरतर्फ, अर्थात् नेपाल नजिकिँदै छ। “त्यसको असरस्वरूप शनिबारदेखि सोमबारसम्म देशभर मनसुनी गतिविधि बढ्नेछ,” उनले भनिन्।
उनका अनुसार मधेस तथा तराईका क्षेत्रमा समेत राम्रै वर्षाको सम्भावना छ। केही स्थानमा त भारी वर्षा पनि हुने संकेत देखिएको छ। “गएराति मधेसका एक–दुई स्थानमा भारी वर्षा भइसकेको छ,” महर्जनले जानकारी दिइन्।
शनिबार बिहानसम्म पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा पनि हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्हरूले यस्तो अवस्थामा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।