
मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्रालिले उत्पादन गरेको ‘बुलेट’ चाउचाउमा स्वास्थ्यका लागि हानिकारक विषाक्त तत्व भेटिएपछि कारबाही गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित एस.के. स्टोर्सबाट चाउचाउको पाँचवटा नमुना संकलन गरी परीक्षण गर्दा त्यसमा एक्सट्रयाक्टेड फ्याट एसिडको मात्रा ७.५ र पेरोक्साइड भ्यालु ३४.९ पाइएको हो। यी दुबै तत्त्व तोकिएको मापदण्डभन्दा धेरै गुना बढी छन्।
फ्याट एसिड र पेरोक्साइड भ्यालु सामान्यतः बासी वा कमसल तेल प्रयोग गर्दा बढ्छन्, जसले अक्सिडेटिभ स्ट्रेस, क्यान्सर, तथा पाचन प्रणालीमा गम्भीर असर पुर्याउन सक्छ।
प्रयोगशालाबाट रिपोर्ट आएपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदै मिसिल खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरमा पठायो। त्यसपछि माघ २८ गते अनुसन्धान सुरु गरिएर चैत ७ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० (च) बमोजिम मुद्दा दायर गरिएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको इजलासले कम्पनीका क्वालिटी कन्ट्रोल म्यानेजर पुजन कोइरालालाई दोषी ठहर गर्दै रु. ५,००० जरिवाना गर्ने फैसला सुनाएको छ। यद्यपि, सरकारी वकिल कार्यालयले ६ महिनासम्म कैद वा ६ लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो।
क्वालिटी समूहमाथि गुणस्तरसम्बन्धी यो पहिलो विवाद होइन। यसअघि पनि सोही समूहको क्वालिटी आयल प्रालिले उत्पादन गरेको सूर्यमुखी तेलमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भइसकेको छ। त्यस सम्बन्धी मुद्दा हाल मोरङ जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ।
खाद्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाले पनि सूर्यमुखी तेलमा मापदण्ड नपुगेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरिसकेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षमा मात्रै १० वटा उद्योगविरुद्ध गुणस्तरहीन उत्पादनको अभियोगमा मुद्दा दायर गरिसकेको छ। ती उद्योगहरूमा दुगड स्पाइसेज, सूर्योदय मिल्क एण्ड बेभरेज, गंगा पेयजल, खेतान चिया, गोमती फुड्स, निधि फुड, मकालु एक्वा लगायत रहेका छन्।
बारम्बार गुणस्तरहीन उत्पादन पाए पनि क्वालिटी समूहले सुधार नगरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।