राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू न थाकेको न गलेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई पनि अडिग र दृढ रहन सन्देश दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति डोलप्रसाद अर्यालले भैरहवा कारागारमा रहेका सभापति लामिछानेको सन्देश सार्वजनिक गरेका हुन्।

“म थाकेको छैन, म गलेको छैन, म गल्दिनँ। त्यसकारण तपाईंहरूलाई गल्ने छुट छैन,” – सभापति लामिछानेको सन्देश।

अर्यालका अनुसार, लामिछानेले पार्टीभित्र एकता कायम राख्दै संगठन विस्तारमा सक्रियता बढाउन, विदेशमा रहेका शुभेच्छुकको आवाज सुन्न र जनताको भरोसा कायम राख्न विशेष जोड दिएका छन्।
उनले थपे,

“सभापतिजीले जनअपेक्षालाई निराशामा बदलिन दिन हुँदैन भन्नु भएको छ।”

हालका दिनमा सञ्चारमाध्यममा आएको ‘सभापतिलाई सबै सांसदले भेट्न पाएनन्’ भन्ने आरोपलाई उपसभापति अर्यालले खारेज गरेका छन्।
उनका अनुसार,“हामीले कुनै शक्तिको दुरुपयोग नगरी सर्वसाधारणले झैँ प्रक्रिया पुर्‍याएर भेट गरेका हौं। तीन जनाबाहेक सबै सांसदले भेट्नुभएको हो।”

रास्वपाले हालै सुरु गरेको हस्ताक्षर अभियानबारे बोल्दै अर्यालले यसलाई “एक सर्वसाधारण नागरिकमाथिको अन्यायविरुद्धको ऐक्यबद्धता” का रूपमा व्याख्या गरे।
उनका अनुसार,

“घरदैलोमा जनतासँग प्रत्यक्ष संवाद गर्दा अत्यन्तै उत्साहजनक प्रतिक्रिया आएको छ।”

रास्वपाले संसदको आगामी बैठकअघि संसदीय दलको बैठक आयोजना गर्ने तयारी गरेको छ।त्यस बैठकमा संसदमा प्रस्तुत हुने रणनीति, जनभावनाका मुद्दाहरू, र पार्टीको धारणा स्पष्ट गर्न छलफल गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय