
काठमाडौं, हास्य क्षेत्रका चर्चित कलाकार सुलेमान शंकर — ‘इकु’ नामले चिनिएका — आज शोकमा छन्। उनकी पत्नी सम्झना घिमिरेको निधन भएको खबरले कला र चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको छ।
४२ वर्षीया सम्झनाको साउन १० गते निधन भएको हो। मिर्गौला पीडित रहिएकी उनी पछिल्ला केही वर्षदेखि डायलाइसिस गराउँदै आइरहेकी थिइन्।
सम्झनालाई अचानक स्वास्थ्य समस्या देखिएपछि नजिकैको ह्याम्स अस्पताल लगिएको थियो। तर, चिकित्सकले त्यहाँ पुग्नासाथ उनी मृत भइसकेको पुष्टि गरेका थिए। अन्त्येष्टि भने शुक्रबार (साउन १६) मात्र पशुपतिस्थित विद्युतीय शवदाहगृहमा गरियो।
दाहसंस्कारमा परिवारका निकट सदस्यहरूको मात्र उपस्थिति थियो। पारिवारिक स्रोतले भन्यो, “छोरा अमेरिकामा थिए, फर्किन समय लाग्यो। आमाको अन्तिम संस्कार उनी फर्किएपछि मात्र गरियो।”
सम्झना र सुलेमान शंकरको एक छोरा र एक छोरी छन्। पारिवारिक जीवनमा साधारण र सहनशील देखिएकी सम्झना, सुलेमानको कलात्मक यात्रामा पनि प्रेरणाको स्रोत भएको पारिवारिक स्रोत बताउँछ।
इकुका निकट कलाकार, शुभेच्छुक र दर्शकहरूले सामाजिक सञ्जालमार्फत सम्झनाको निधनप्रति शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा लेखिएको एक पोस्टमा भनिएको छ — “हामीलाई हँसाउने व्यक्ति आज भित्रभित्रै रोइरहेका छन्। उहाँको पीडामा हामी सबै सहभागी छौं।”