
सरकारले आज पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइइ रहेको छ ।
भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
कोदो दिवस मनाउन मन्त्री अधिकारी सुट पाइन्टमा सजिएर ताथली पुगेका थिए । सुट पाइन्ट, भादगाउँले टोपी र छालाको जुत्तामा सजिएका मन्त्रीले बारीमा पसेर कोदाली चलाउन थाले ।
त्यससँगै उनले त्यही पोसाकमा कोदो पनि रोप्न भ्याए ।
कार्यक्रममा मन्त्री अधिकारीले गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएको बताए ।
गतवर्षको तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी यो वर्ष सरकारले कार्यक्रम अघि बढाएको उनको भनाई थियो ।
सुटबुटमै सजिएर केदाली चलाउनु र कोदो रोप्नु कृषिमन्त्रीको रहर हो कि बाध्यता हो त्यो भने उनलाई नै थाहा होला ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत परम्परागत गुणकारी खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गर्दै कोदोको प्रवर्द्धन र परिकारहरू उपभोग गर्न सबैलाईआग्रह गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्–‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ।’
सिँचाइ बिना नै उत्पादन हुन सक्ने गुणकारी खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।