
काठमाडौंको एक महँगो रूफ–टप होटलमा रात चर्कँदै थियो। रातको ११:३० बजेको थियो — सहरका गल्लीहरू विस्तारै सुनसान हुँदै थिए। तर, महाराजगन्जस्थित साम्बाला होटलमा भने रमाइलोको रङ बाक्लिँदै थियो। चुस्की र हुस्किमा गरमगरम हुदै थियो ।
रातको ११ बज्न लागेको थियो । हलमा भेला थिए मिलन गुरुङ। सहर उनलाई ‘चक्रे मिलन’ भनेर चिन्छ। एक समयको भयावह नाम, आजको विवादास्पद अनुहार। उनी ‘शान्त’ थिए — तर राजधानीको सुरक्षा संयन्त्र उनीप्रति अशान्त भइसकेको थियो।
मिलन गुरुङ र उनका सहयोगीहरू ‘जन्मदिन’ मनाउँदै थिए, तर भित्रभित्रै त्यो उत्सव प्रहरीको निगरानीको केन्द्र बनिसकेको थियो।
त्यसै दिन बिहान, उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा केही भिडिओहरू हेर्न सकिने मौका मिल्यो। एआईजी टेकप्रसाद तामाङले ती भिडिओ देखाउँदै भने, “यी दृश्यहरूले समाजमा डर सिर्जना गर्छन्। निगरानी बढाउनुहोस्।” उनको आदेश सिधा थियो।
काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालय सक्रिय बने। एसएसपी मनोज बस्नेत र एसएसपी विश्व अधिकारीले आपसमा रणनीति बनाउँदै भने — अब पर्खन मिल्दैन।
त्यही रात, प्रहरी निरीक्षक सुरज खत्री नेतृत्वको २२ जनाको सिभिल टोली साम्बाला होटलतर्फ हिँड्यो। राति ११:३० बज्दा टोली होटल बाहिर पुगिसकेको थियो। शान्त वातावरणमा पनि केही हलचल महसुस भएको थियो, टोलीमा सहभागी एक प्रहरीले पछि भने,
“रूफ–टपबाट संगीत आउँथ्यो, तर त्यो कुनै सामान्य पार्टी जस्तो लाग्दैनथ्यो।”
सुरक्षाका लागि पहिलो चरणमा होटलको भित्री तस्बिर खिच्ने योजना बनाइयो। टोलीका केही सदस्यहरू पाहुनाका रूपमा प्रवेश गरे। केहीबेरमा खबर आयो — “चक्रे मिलनकै समूह त्यहाँ छ।” एसएसपी बस्नेतलाई खबर गरियो।
उनले तुरुन्तै प्रहरी परिसर प्रमुख एसएसपी अधिकारीसँग समन्वय गरे। यसपछि महाराजगन्ज प्रहरी वृत्तबाट डिएसपी निरञ्जन थापा नेतृत्वमा २५ जना युनिफर्मधारी प्रहरी टोली तयार पारियो।
सिभिल टोली छायाँमा थियो, युनिफर्म टोली नेतृत्वमा। डिएसपी थापा प्रवेश गरे — “पार्टी बन्द गर्नुस्, सबैजना एक ठाउँमा भेला हुनुहोस्।”
सोधपुछ सुरु भयो। समूहले भने — “आज चक्रे दाइको जन्मदिन हो।” तर कसैले भने, “हिजो मनाएका थियौं, आज फेरि भेटेको हो।”
चक्रे मिलन केही बोलेनन्। एकजना युवाले भने, “सर, बर्थडे पनि मनाउन नपाइने हो?” प्रहरी चुपचाप थियो, स्पष्ट नियतसाथ। जवाफ थियो — “कुनै पनि गतिविधि नियमबाहिर जानु हुँदैन।”
पार्टीमा सहभागी गाडीहरू पनि चेक गरिए। एक गाडीभित्रबाट दुईवटा खुकुरी, फलामे रड र पेपर स्प्रे फेला परे। यो केवल बर्थडे पार्टी थियो कि शक्ति प्रदर्शनको पूर्वाभ्यास?
४७ जना युवाहरू — सबैलाई नियन्त्रणमा लिइयो। चक्रे मिलनसहित उनीहरू अहिले काठमाडौं प्रहरी परिसरमा स्क्रिनिङमा छन्। कसको नाम पुरानो आपराधिक अभिलेखमा छ? को निर्दोष र को योजनाकार?