काठमाडौँ — कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) आफ्नो जन्मदिनको दिन बिहानै पशुपतिनाथ मन्दिरमा ‘धार्मिकता प्रदर्शन’ गर्दै पैसा बाँडिरहेका थिए, साँझमा भने उनी साम्बाला होटलको आठौँ तलाबाट प्रहरीको फन्दामा परे।

चक्रे मिलन बिहीबार दिनभर टिकटकमा भिडियो पोस्ट गर्दै जन्मदिन मनाउने उत्सव सार्वजनिक गरिरहेका थिए। ती भिडियोहरूमा उनी सार्वजनिक सडक नियन्त्रणमा लिएको दृश्य, पशुपतिमा पैसा बाँडेको दृश्यलगायत उद्दण्ड प्रदर्शन देखिएको थियो। ती दृश्य भाइरल भएपछि प्रहरी सतर्क बनेको हो।

केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए । सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको थियो ।

४८ जना पक्राउ, एलओडीमा सम्भावित टकराव टर्यो
प्रहरीका अनुसार, चक्रे मिलनसहित ४८ जना गुण्डा गतिविधिमा संलग्नहरूलाई साम्बाला होटलबाट पक्राउ गरिएको हो। उनीहरू ठमेलस्थित एलओडी (Lord of the Drinks) क्लबतर्फ जान तयारीमा थिए, जुन दीपक मनाङे समूहको प्रभाव क्षेत्र मानिन्छ।

प्रहरीका एक अधिकृतका अनुसार, “मनाङेका समर्थकहरू पहिल्यै एलओडीमा भेला भइरहेका थिए, चक्रेको समूह त्यहीँ जाँदै थियो। समयमा पक्राउ नगरेको भए ठमेलमा ठुलो मुठभेड हुने सम्भावना थियो।”

सार्वजनिक दृश्यमा सामुहिक शक्ति प्रदर्शन गर्ने, सडकमा धाक जमाउने, र पैसा बाँड्ने भिडियोहरू भाइरल भएपछि उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले तीनै जिल्लाका प्रमुख र अपराध अनुसन्धान प्रमुखहरूलाई बैठकमा बोलाएका थिए। त्यसपछि विशेष निगरानी सुरु गरिएको थियो।

अन्ततः बिहीबार राति जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त अपरेसनमा चक्रे पक्राउ परे।

चक्रे मिलनको विगत आपराधिक इतिहासले भरिएको छ। उनले केही समय यता ‘सुधारिएको’ छवि देखाउने प्रयासस्वरूप धार्मिक स्थलमा पैसा बाँड्ने, सहयोगीहरूलाई दान दिने जस्ता प्रदर्शन गरिरहे पनि, पछिल्ला गतिविधिहरूले उनी फेरि आपराधिक सञ्जाल सक्रिय गर्न खोजिरहेको संकेत दिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय