
काठमाडौं — राजधानीमा आतंक मच्चाउँदै आएका कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) बिहीबार राति प्रहरीको विशेष अपरेसनमा महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका छन्। उनले जन्मदिन मनाइरहेका बेलामा प्रहरी पुगेको थियो।
प्रहरीले दिएको जानकारी अनुसार, चक्रे मिलन आफ्नो समूहसहित ठमेलस्थित एलओडी (Lord of the Drinks) क्लबतर्फ जान तयारीमा थिए, जहाँ उनका प्रतिद्वन्द्वी दीपक मनाङे समर्थकहरू पहिल्यै भेला भएका थिए। सूचना प्रणालीबाट पाएको खबरका आधारमा प्रहरीले मिलनलाई समयमै नियन्त्रणमा लिएको थियो। अन्यथा ठमेलमा ठुलो झडपको सम्भावना रहेको उच्च प्रहरी अधिकारीहरूले बताएका छन्।
चक्रे मिलनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी को नेतृत्वमा गएको टोलीले साम्बाला होटलको आठौँ तल्लाबाट नियन्त्रणमा लिएको हो। उनको साथमा ठूलो संख्यामा उनका सहयोगीहरू पनि पक्राउ परेका छन्।
केही दिनअघि सार्वजनिक सडक कब्जा गर्दै टिकटक बनाएको दृश्य चक्रे मिलनले सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरी सतर्क बनेको थियो। उक्त भिडियो भाइरल भएपछि उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले तीनवटै जिल्लाका प्रहरी प्रमुखहरूलाई निगरानी तीव्र पार्न निर्देशन दिएका थिए।
त्यसैको फलस्वरूप काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले विशेष अपरेसन चलाएको थियो।
गएको केही समयदेखि चक्रे मिलनले आतंकको राजनीतिमा नरम रूप देखाउने प्रयास गरिरहेका थिए। तर, पछिल्लो गतिविधिले देखाउँछ — उनले ‘सुधार’को आवरणमा पुनः आपराधिक जालो विस्तार गर्न खोज्दै थिए।
गुण्डागर्दी विरुद्ध चलेको उक्त अपरेसनमा चक्रे मिलनसहित ४७ जना भन्दा बढी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू पक्राउ परेका छन्। उनीहरूको क्रिमिनल ट्र्याक रेकर्ड अध्ययन गरेर कसलाई के मुद्दामा कारबाही गर्ने भन्ने निर्णय आजैदेखि सुरु भएको छ।
यसअघि साउन १५ गते बिहान ३ बजे, ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा हुँदा युवराज गुरुङ उर्फ ‘सानुभाइ’ पनि पक्राउ परेका थिए। उनले अत्यधिक मदिरा सेवन गरेका बेला अर्को समूहसँग वादविवाद भएपछि झगडा भएको थियो। सो क्रममा नुवाकोटका रवीन्द्र गुरुङ र पाँचथरका दिलकुमार तुम्बाफो पनि पक्राउ परेका थिए। प्रहरीले उनीहरूलाई प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।