
कुख्यात गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) बिहीबार राति राजधानीको महाराजगन्जस्थित होटल साम्बाला बाट पक्राउ परेका छन्। जन्मदिन मनाउन पुगेका मिलनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘चक्रे मिलन’को जन्मदिनको पार्टीमा विभिन्न अपराधमा संलग्न समूहका व्यक्तिहरु भेला भएको सूचना पाएपछि रातभरि निगरानी गर्दै विशेष अप्रेसन चलाइएको हो। प्रहरीका अनुसार चक्रे मिलन जन्मदिनको अवसरमा होटलमा जमघट गरिरहेका थिए। सोही समयमा गुप्त सूचनाका आधारमा पुगेको प्रहरी टोलीले होटलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले भने, “मिलनसहित केही अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छौँ। उनीहरूलाई स्क्रिनिङपछि थप अनुसन्धान गरिनेछ।”
यसै अपरेसनको सिलसिलामा प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट कूल ४७ जना भन्दा बढी गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ।
चक्रे मिलन २०७४ वैशाख २६ मा पनि महाराजगन्ज क्षेत्रबाटै पक्राउ परेका थिए। तर कानुनी कमजोरी र पर्याप्त प्रमाण अभावका कारण उनी छिट्टै छुटेका थिए।
चक्रे मिलन लामो समयदेखि राजधानीमा हप्ता असुली, धम्की, र संगठित गुण्डागर्दीका गतिविधिमा सक्रिय मानिन्छन्। उनले सञ्चालन गर्दै आएको आपराधिक सञ्जाल र त्यसमा राजनीतिक संरक्षणको चर्चा पनि समय-समयमा उठ्ने गरेको छ।
प्रहरीका अनुसार गुन्डा गतिविधिमा संलग्न व्यक्तिहरूलाई रात्रिकालीन व्यवसाय र क्लबसँगै लिङ्क गरेर निगरानीमा राखिएको छ। ठमेल र महाराजगन्ज क्षेत्रका क्लब तथा रेष्टुरेन्टहरूबाट अवैध असुली र आन्तरिक झगडाहरू बढेपछि प्रहरीको संयुक्त अपरेसन चलेको हो।