
काठमाडौँ — राजधानीका रात्रिकालीन क्षेत्रहरूमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न काठमाडौं प्रहरी सक्रिय बनेको छ। बिहीबार राति विशेष अपरेसन चलाउँदै गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी आपराधिक गतिविधिमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरिएको हो। उनी यसअघि पनि २०७४ वैशाख २६ मा सोही क्षेत्रबाट पक्राउ परेका थिए, तर कानुनी कारबाही टुंगिन नपाउँदै छुटेका थिए।
‘गुण्डा अपरेसन’ मा एसएसपीको कमान्ड
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको अपरेसन अन्तर्गत विशेष टोलीले ठमेल र महाराजगन्ज क्षेत्र लक्षित गर्यो। उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङ का अनुसार, “रात्रिकालीन व्यवसायको आडमा अवाञ्छित गतिविधि गर्नेहरू नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदैछ।”
सानुभाइ पुनः पक्राउ, झगडापछि नियन्त्रणमा
यसै क्रममा, साउन १५ को बिहान करिब ३ बजे, ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेपछि कुख्यात गुन्डा युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ परेका छन्। उनी नुवाकोट ककनी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् भने हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका छन्।
सानुभाइ कुनै समय इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए। बारम्बार पक्राउ परे पनि उनी अपराधको बाटो छोड्न असफल देखिएका छन्।
रात्रिकालीन क्लब र हप्ता असुलीमा संलग्नहरू प्रहरीको सूचीमा
प्रहरीका अनुसार ठमेल, दरबारमार्ग, र महाराजगन्ज क्षेत्रका विभिन्न रेष्टुरेन्ट र नाइट क्लबहरूमा बसेर ‘हप्ता असुली’, झगडा, धम्की र अवैध कारोबारमा संलग्न गिरोहहरूलाई लक्षित गरी अपरेसन चलाइएको हो। पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर आपराधिक गतिविधिको तह र संगठितताको आधारमा थप अनुसन्धान हुने प्रहरी स्रोतको भनाइ छ।