
काठमाडौं — राजधानी र नुवाकोट क्षेत्रमा लामो समयदेखि त्रास फैलाउँदै आएका युवराज गुरुङ उर्फ सानुभाइ बिहीबार बिहान पुनः प्रहरीको फन्दामा परे । बारम्बार आपराधिक गतिविधिमा मुछिँदै आएका उनलाई यसपटक काठमाडौंको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझबाट पक्राउ परेका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ । ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, सानुभाइले बिहान करिब ३ बजेतिर दोहोरी साँझमा अर्को समूहसँग विवाद गरी झगडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
३३ वर्षीय गुरुङको स्थायी घर नुवाकोटको ककनी गाउँपालिका–५ भए पनि उनी हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका छन्। उनी कुनै समय कुख्यात अपराधी कुमार श्रेष्ठ उर्फ ‘घैंटे’का मुख्य सहयोगी थिए। घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि सानुभाइले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न सुरु गरेका थिए।
सानुभाइको अपराधको इतिहास लामो छ।
२०७२ मा हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमै फेला परेका थिए।
२०७६ पुसमा बैंकिङ कसुरमा पक्राउ परे।
२०६७ मा निर्माण व्यवसायी अनिल श्रेष्ठमाथि गोली प्रहार गरेका थिए।
होटल व्यवसायी सुरेश डंगोलमाथि पनि आक्रमण गरेका थिए।
यसबाहेक,
२०८० असार १५ मा ठमेलको क्लब ओम्नियामा ‘सम्मान नपाएको’ भन्दै आक्रमण गरेपछि उनी पक्राउ परेका थिए।
२०८० माघमा ठमेलकै प्ले ब्वाई क्लबमा झगडा, जसमा ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो। त्यसपछि उनी भारत फरार भएका थिए।
प्रहरीले बारम्बार पक्राउ गरे पनि सानुभाइको आपराधिक गतिविधि नरोकेको देखिएको छ। यसपटक उनले नुवाकोट सूर्यगढी गाउँपालिका–२ का रवीन्द्र तामाङ र पाँचथर फिदिमका दिल कुमार तुम्बापोसँग दोहोरी साँझमै झगडा गरेका थिए। प्रहरीले ती दुई जनालाई पनि नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ।
सानुभाइ पछिल्लो समय राजनीतिक पहुँच बनाउँदै राजनीतिक संरक्षणको आडमा बारम्बार सजायबाट उम्किन सफल भएका उनले योपटक कति दिन थुनैमा बिताउने हुन् भन्ने चासो छ।
प्रहरी अधिकारीहरूका अनुसार, ‘सानोभाइ’ बारम्बार पक्राउ परे पनि छिट्टै छुट्ने कारण उनका राजनीतिक दलका उच्च पदस्थ नेताहरूसँग निकटता हो। विशेष गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग उनको घनिष्ट सम्बन्धले यसमा भूमिका खेलेको जनाइन्छ। २०७७ फागुन ७ गते नुवाकोटमा भएको बीपी स्मृति भवन उद्घाटन समारोहमा ‘सानोभाइ’ले आफ्नो खर्चमा गगन थापालाई हेलिकोप्टरमार्फत लगाएको घटना पनि यो सम्बन्धलाई पुष्टि गर्ने मुख्य उदाहरण हो।