
जनकपुरधाम, धनुषा — प्रेम र सम्बन्धको खेल कहिले काँही यति क्रूर मोडमा पुग्छ, जहाँ निर्दोषको ज्यान जान्छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति १५ वर्षीया अञ्जली यादवको खुकुरी प्रहारबाट ज्यान गएको घटनाले यही भयानक यथार्थ उजागर गरेको छ। प्रहरी अनुसन्धान अनुसार, घटनाको जड मृतक अञ्जलीकी आमा आशादेवी यादवको अवैध सम्बन्धमा रहेको छ — जुन सम्बन्ध टुट्दै गएपछि प्रतिशोधको हिंस्रक रूपमा परिणत भयो।
रामबाबु साह — ३५ वर्षका, क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी — पहिल्यै एकपटक हत्या अभियोगमा जेल बसिसकेका व्यक्ति हुन्। २०७१ सालमा आफ्नै कानुनी पत्नीको हत्या गरेका उनी ५ वर्षको सजायपछि २०७७ मा छुटे। त्यसपछि उनी जनकपुरधाममा पुनः बस्न थाले, र त्यहीँ भेट भयो — आशादेवी यादवसँग, जसका श्रीमान् वैदेशिक रोजगारीमा थिए।
दुवैबीचको सम्बन्ध भावनामा मात्रै सीमित रहेन, आर्थिक लेनदेनसम्म फैलियो। रामबाबुले आशालाई अटो रिक्सासमेत किनिदिए। यिनै विश्वासले बाँधिएको सम्बन्ध आशाका तर्फबाट टुट्दै जाँदा रामबाबुमा रिस, असुरक्षा र प्रतिशोधको भावना पलाउन थाल्यो।
प्रहरी अनुसन्धान अनुसार आशादेवीले रामबाबुलाई बिस्तारै वेवास्ता गर्न थालिन्। फोन नउठाउने, झर्किने, अटो आफ्ना भाइको नाममा दर्ता गराउने, रामबाबुको वैध पत्नीलाई समेत म्यासेज गरेर झगडा गराउनेजस्ता गतिविधिहरू बढ्दै गए। उनी डेरा समेत परिवर्तन गरेर श्रीमान् र छोरीसँग बस्न थालिन्। रामबाबु यो सबैलाई ‘चिट’ र ‘अस्वीकार’ को संकेत ठाने।
घटनाको दिन पनि, आशादेवीले रामबाबुलाई फोनमै गाली गरेको तथ्य प्रहरी फाइलमा उल्लेख छ। त्यसपछि रामबाबुमा ‘अन्तिम’ निर्णयको आक्रोश जाग्यो।
सोमबार राति करिब ११ बजे रामबाबु खुकुरी बोकेर आशाको डेरामा प्रवेश गरे। अन्धाधुन्ध प्रहार सुरु भयो। आमालाई बचाउन निडर भएर अघि बढेकी १५ वर्षीया अञ्जली यादव रामबाबुको क्रोधको सिकार भइन्। घटनास्थलमै उनको ज्यान गयो।
आशा गम्भीर घाइते भएकी छिन् र हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन्। अञ्जलीकी मामाकी छोरी राधा यादव पनि आक्रमणमा परेकी थिइन्, जो सामान्य घाइते भइ उपचारपछि घर फर्किसकेकी छन्।
धनुषा प्रहरीले रामबाबु साहलाई बिहीबार पक्राउ गर्यो। साथमा घटनामा प्रयोग गरिएको खुकुरी र मोटरसाइकल समेत बरामद गरिएको छ। उनलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरी प्रमुख एसपी नरहरी रेग्मी भन्छन्, “हाम्रा अनुसन्धान अनुसार रामबाबु र आशाबीचको अवैध सम्बन्धमा आशाले चिट गरेपछि रामबाबुमा बदला लिने भावना पैदा भयो। त्यसैले हत्या योजनाबद्ध देखिन्छ।”