
नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले नेपालको तराई मधेस क्षेत्रको पानी भारतले सिमानाको नजिकको १०/२० किलोमिटर जमिनबाट पानी खिचेर समस्या सिर्जना गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। उनले भने, “यो विषयमा जासुसी तरिकाले अध्ययन गरी तथ्याङ्क संकलन गर्न आवश्यक छ।”
यसैबीच, गौतमले तराई मधेस क्षेत्रमा पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलोमिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले ठोरी नहरबाट पानीलाई आठ जिल्लामा पुर्याएर पानीको रिचार्ज गर्न सकिने बताएका छन्।
उनका अनुसार, पाँचदेखि छ दिनसम्म पानी रिचार्ज गर्ने हो भने खर्च गहिराइ अनुसार निर्धारण गर्न सकिन्छ। राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटरमा पोखरी बनाएर आठ जिल्लामा ४० वटा पोखरी निर्माण गर्ने योजना रहेको उनले बताए। यसका लागि २५/३० हजार कामदार खटाएर दुईदेखि तीन महिनाभित्र परिणाम देखिने उनले विश्वास व्यक्त गरे।
गौतमले पूर्वी, मध्य र पश्चिम तराईदेखि पहाड क्षेत्रमा समेत यस्तै पानी व्यवस्थापन गर्न सकिने बताए। उनले चुरे क्षेत्रमा पानी नहुनुको कारण भूगर्भीय संरचनाको ग्यागरिङ भएको दाबी पनि गरे।