
काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट गुन्डा नाइकेका रूपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङ पक्राउ परेका छन्। उनलाई ठमेलस्थित नगरकोट दोहोरी साँझ नामक रेस्टुरेन्टबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी कुलदीप चन्दका अनुसार गुरुङमाथि झैझगडा र अमानवीय व्यवहार गरेको आरोप लागेको छ। “ठमेल क्षेत्रमा झैझगडा गरेको सूचना पाएपछि टोली खटियो र उनी पक्राउ परे,” चन्दले जानकारी दिए।
गुरुङको नाम राजधानीमा लामो समयदेखि चर्चामा छ। उनलाई यसअघि पनि विभिन्न कुटपिट, डरधम्की, अवैध असुली तथा हातहतियार प्रदर्शनजस्ता मुद्दामा पक्राउ गरिएको थियो।
हाल गुरुङलाई काठमाडौँको सोह्रखुट्टे प्रहरी वृत्तमा राखेर प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई सार्वजनिक अपराध तथा शान्ति सुरक्षाविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।
अपराधिक पृष्ठभूमि:
युवराज गुरुङ राजधानीका विभिन्न ठेगानामा हुने दोहोरी साँझ, क्लब र बारहरूमा विवाद, धम्की तथा अवैध असुलीका घटनाहरूमा संलग्न रहेको आरोप लाग्दै आएको छ। केही समय ‘गुन्डा नियन्त्रण अभियान’ अन्तर्गत पक्राउ परे पनि उनी छोटो समयमै छुट्ने गरेका छन्। उनका नाममा विभिन्न उजुरीहरू परेका भए पनि प्रमाण अभावका कारण कानुनी कारबाही कमजोर हुने गरेको स्रोतहरू बताउँछन्।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।
प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।
उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।