
बलात्कार पीडित एक किशोरीले आफ्नो खातामा जम्मा भएको ३ लाख रुपैयाँ को स्रोत खुलाउँदै उक्त रकम न आफैंले मागेको, न त राजेश अहिराजबाट लिएको दाबी गरेकी छिन्।
मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजले पीडित किशोरीले आपराधिक लाभ लिन खोजेको भन्दै २० लाख रुपैयाँ क्षतिपूर्ति मागेको आरोप सहित जिल्ला अदालत काठमाडौंमा जाहेरी दर्ता गराएका छन्। तर, अदालतमा पेश भएको बयानमा किशोरीले सो दाबी पूर्णरूपमा अस्वीकार गरेकी छिन्।
पीडितको भनाइ : “आफ्नै आम्दानी र आमाको सहयोगबाट जम्मा भएको रकम हो”
किशोरीले आफ्नो खातामा जम्मा भएको रकमको विस्तृत विवरण दिँदै भनिन् कि:
“लक्ष्मी सनराइज बैंकको 0261××××××××5001 नम्बरको मेरो खातामा जम्मा भएको ३ लाख रुपैयाँमध्ये बुलबुल यादवले आमालाई दिएको १ लाख २५ हजार रुपैयाँ र होस्टेल, धान तथा चामल बेचेर आएको १ लाख ७५ हजार रुपैयाँ छ।”
उनले थप स्पष्ट पारिन् कि,“अहिराजले मलाई नगद ३ लाख दिएका भन्ने अवस्थै कहिल्यै आएको छैन, त्यसमा कुनै सत्यता छैन।”
के दाबी गरेका छन् अहिराजले?
पूर्वप्रदेश प्रमुख राजेश अहिराजले अदालतमा दर्ता गराएको जाहेरीमा उल्लेख गरिएको छ कि किशोरीले उनीसँग २० लाख रुपैयाँ मागेकी थिइन्, र आफूले त्यस अनुरूप ३ लाख रुपैयाँ नगद दिइसकेको दाबी गरेका छन्।
अहिराजको भनाइमा, पीडित किशोरीले उनीमाथि झूटो आरोप लगाएर आर्थिक लाभ लिन खोजेकी हुन्।तर पीडित पक्षको बयानले भने यस्तो कुनै पैसाको माग या लेनदेनको आरोप नै खारेज गरेको देखिन्छ।
बलात्कारको आरोप र घटनाक्रम
किशोरीले जाहेरीमा उल्लेख गरे अनुसार, २०७८ जेठ ४ गते काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक्लै बसिरहेको बेला अहिराज आएर बलात्कार गरेका थिए।
उनले भनेकी छिन्:“कोठामा म एक्लै थिएँ। उहाँ आएर जबरजस्ती गर्नुभयो।”किशोरीका अनुसार यो घटना आफैंले भोगेको गम्भीर पीडा हो, तर अहिले त्यो पीडालाई झूटो ठहर गर्दै आफूमाथि आर्थिक लाभको गलत आरोप लगाइएको छ।
यस घटनाको विषयमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। अहिले दुवै पक्षको बयान, बैंक विवरण र अन्य प्रमाणहरूको आधारमा कानुनी प्रक्रिया अगाडि बढिरहेको छ।मुद्दामा ‘आपत्तिजनक लाभ लिन खोजेको’ भन्ने पक्षको दाबी छ भने, अर्कोतर्फ पीडित किशोरीले आफूमाथि परेको बलात्कारको पीडालाई दबाउन पैसा मागेको आरोप लगाइएको बताएकी छिन्।