
काठमाडौंको तीनकुनेमा रहेको भवानी ग्रुप कन्स्ट्रक्सन प्रालिमाथि ठेकेदारको मेहनतको मूल्य नदिएको आरोप लागेको छ। पर्साको वीरगञ्ज घर भई हाल भक्तपुर ठिमी बसोबास गर्दै आएका ठेकेदार गौरीशंकर साहले काठमाडौंका पाँचवटा भवन निर्माण गरे पनि १० लाख रुपैयाँ अझै नपाएको गुनासो गरेका छन्।
पाँच वर्ष काम, तर भुक्तानी छैन
साहका अनुसार उनले विगत ५ वर्षदेखि भवानी ग्रुपका लागि काम गर्दै आएका थिए। काठमाडौंका टोखा, सिरुटार, चन्द्रागिरी, सूर्यविनायक र टिकाथलीमा भवन निर्माणको जिम्मा लिएर काम सम्पन्न गरे पनि अन्तिम किस्ताको रकम पाउन सकेका छैनन्।
भुक्तानी नपाउँदा विष सेवनसम्म
वर्षौंदेखि काम गरे पनि पैसा नपाउँदा साहको परिवार आर्थिक संकटमा परेको छ। उनले भने,
“फागुन महिनामा पैसा नपाएकै तनावमा विष खाएँ। होलीमा मजदुरहरूलाई पैसा दिन नसकेपछि म आवेशमा आएँ।”
अस्पतालमा पाँच दिन बिताएका उनले घरभाडा तीन महिनादेखि तिर्न नसकेको, दुई छोराको विद्यालय फी तिर्न नसकेको र परीक्षा दिनसमेत गाह्रो भएको पीडा सुनाए।
कुन स्थानमा कति बाँकी?
गौरीशंकर साहले निर्माण गरेका पाँचवटै भवनमा अन्तिम किस्ताका रकम नपाएका छन्:
टोखा- कुल ठेक्का रकम १७.५ लाख, पाएको भुक्तानी १४ लाख, बाँकी रकम ३.५ लाख
सिरुटार- कुल ठेक्का रकम १७.५ लाख, पाएको भुक्तानी १३ लाख, बाँकी रकम ४.५ लाख
चन्द्रागिरी- कुल ठेक्का रकम १८.७ लाख, एको भुक्तानी १७.५ लाख, बाँकी रकम १.२ लाख
सूर्यविनायक- कुल ठेक्का रकम पाएको भुक्तानी २२.५ लाख, बाँकी रकम २१ लाख १.५ लाख
टिकाथली कुल- ठेक्का रकम ३४ लाख (काम रोकिएको) पाएको भुक्तानी २७ लाख (घरधनीबाट), बाँकी रकम ७ लाख (कम्पनीसँग)
कुल रूपमा साहको १० लाख रूपैयाँ भुक्तानी बाँकी रहेको छ भने ८ लाख रुपैयाँ मजदुरहरूको तलबसमेत दिन नसकेको उनले बताए।
कम्पनीको भनाइ
भवानी ग्रुपका सञ्चालक भवानी ओझाले साहको काममा त्रुटि देखिएको र घर चर्किएको कारण भुक्तानी रोकिएको जिकिर गरेका छन्।
उनका अनुसार,
“कामको गुणस्तरमा समस्या आएको छ, त्यसैले मर्मतपछि मात्रै बाँकी रकम तिर्ने हो।”
तर साहले भने आफुले निर्माण गरेर हस्तान्तरण गरेका घरधनीहरूसँग कुनै गुनासो नभएको र सबैले पैसा दिइसकेको पुष्टि गरेका छन्।
कानुनी लडाइँको तयारी
सम्झौता अनुसार भवन हस्तान्तरण भएको एक वर्षपछि अन्तिम किस्ता दिनुपर्ने व्यवस्था छ। तर भवानी ग्रुपले कुनै प्रक्रिया अघि नबढाएको साहको आरोप छ।
सम्झौता पत्र र प्रमाणहरू लिएर उनले न्यायको माग गर्दै विभिन्न निकायमा गुहार गरिरहेका छन्।