बिहिबार , साउन १६, २०८२

१४ वर्षदेखि अभिभावकविहीन जीवन बिताउँदै आएकी धुलिखेल नगरपालिका–७ स्थित बालगृहमा बस्ने स्वस्तिका केसीले अन्ततः आफ्नो नागरिकता मात्र होइन, वर्षौंदेखि हराएका आमा–बुबा दुबैलाई पनि भेट्न सफल भएकी छिन्।

स्वस्तिका सानै छँदा बेवारिसे अवस्थामा सडकमा भेटिएकी थिइन्। उनलाई धुलिखेलकै राधा माकजुले उद्धार गरिन्। करिब एक वर्षसम्म साथमा राखी धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा भर्ना गराइन्। तर, राधा अमेरिका जान लागेपछि स्वस्तिका सिद्धार्थ बालगृहमा पुर्‍याइन्, जहाँ उनले नयाँ जीवन पाउन थालिन्।


उमेरसँगै स्वस्तिकालाई नागरिकता आवश्यक भयो। तर बुबाआमा को हुन् भन्ने जानकारी नभएकाले यो सजिलो थिएन। बालगृहकी सञ्चालक सर्मिला श्रेष्ठ र सामाजिक अभियन्ता अर्जुन भुसालले परिवारको खोजीमा अनेक प्रयास गरे।

धुलिखेलमै अर्जुनले बनाएको सामाजिक सञ्जालको भिडियो हेरेपछि स्वस्तिकाकी आमा मञ्जु केसी (नागरिकतामा कृति गुरुङ) चितवनबाट सम्पर्कमा आइन् भने बुबा विष्णुराज केसी पनि सम्पर्कमा आएका थिए। उनी सिन्धुपाल्चोकमा भए पनि लामो समयदेखि जिल्ला बाहिर काम गर्दै आएका थिए।

बुबा विष्णुराज केसीले स्वस्तिकालाई आफ्नो छोरी भनेर मान्यता दिएपछि नागरिकता प्रक्रियामा सहजता आयो। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० खत्रीथोकस्थित पुर्ख्यौली गाउँमा गएर वडा अध्यक्ष निलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीको पहलमा सार्वजनिक मुचुल्का तयार गरियो।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले त्यसकै आधारमा वंशजको नागरिकता प्रदान गर्‍यो। प्रमुख जिल्ला अधिकारी किरण थापा र सहायक प्रजिअ गणेश नेपालीले मंगलवार स्वस्तिकालाई नागरिकता हस्तान्तरण गरे।

नागरिकता पाउनु र आमाबुबासँग भेट हुनु दुबै क्षण स्वस्तिकाका लागि अविस्मरणीय रहे।
उनले भनिन्,

“मैले बुबा र ममी भेट्छु भन्ने कल्पना पनि गरेकी थिइनँ। सानैमा किन छाडेर जानुभयो भन्ने सोध्न मन थियो, तर उहाँहरूले अन्ततः चिनियो, म खुसी छु।”

स्वस्तिकाले कक्षा १० सम्म सञ्जीवनी नमूना माध्यमिक विद्यालय र कक्षा ११–१२ बनेपाको आदर्श विद्यामन्दिरमा अध्ययन गरेकी छिन्। अब, नागरिकता पाएपछि उनी उच्च शिक्षातर्फ अघि बढ्ने तयारीमा छिन्।

स्वस्तिकाको कथा अभिभावकबाट त्यागिए पनि समाजको माया र सहयोगले जीवन फिरेको उदाहरण हो। बालगृह, स्थानीय निकाय, समाजसेवी र प्रहरी प्रशासनको समन्वयले उनी आज अधिकारसहितको नागरिक बनेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय