बिहिबार , साउन १६, २०८२

कैलालीको चुरे क्षेत्रको घना जंगलमा तामा (बासकल्ला) खोज्न गएका युवक टेकबहादुर रोकाया चार दिनपछि मृत अवस्थामा फेला परेका छन्। गौरीगंगा नगरपालिका–६, बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया यही साउन १० गते बिहान घरबाट निस्किएका थिए।

उनले स्थानीय दुई युवकसँगै तामा खोज्न गएका थिए। बिहान ८ बजे निस्किएका उनी चुरे गाउँपालिका–४ को तल्ला रौला जंगलबाट सम्पर्कविहीन भएका थिए। परिवारका अनुसार उनी नियमित रूपमा तामा संकलन गर्न जंगल जाने गर्थे। तर, यसपटक फर्किएनन्।


चार दिनको खोजीपछि मंगलवार चुरे गाउँपालिका–४ पनेरुवा शिविरमाथिको सिताखाली खोलामा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले जानकारी दिए। घटनास्थल दुर्गम र झाडीले भरिएको भएकाले शव भेट्टाउन ढिलो भएको बताइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा शवमा देखिने चोटपटक वा हिंसात्मक गतिविधिको स्पष्ट प्रमाण नदेखिए पनि घटनालाई संकास्पद मान्दै थप अनुसन्धान अघि बढाइएको छ।

परिवारका सदस्यहरू भने टेकबहादुरको मृत्युलाई सामान्य घटना मानेका छैनन्। उनीहरूले संगै गएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।

शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको छ। रिपोर्टपछि मात्रै मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा तथा आफन्तजनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

टेकबहादुर रोकायाको असामयिक र शंकास्पद मृत्युपछि गाउँमा शोक र चिन्ता छाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय