बिहिबार , साउन १६, २०८२

मलेसियाबाट हालै मात्र नेपाल फर्किएका सुरेन्द्रबहादुर शाही दैलेखको छामघाटमा शव अवस्थामा फेला परेका छन्। उनी साउन १० गते घर फर्किंदै गरेका थिए। तर, भोलिपल्ट साउन ११ गते बिहान दुल्लु नगरपालिका–११ स्थित छामघाट खोलाको किनारमा उनको शव भेटिएको हो।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौर निवासी २८ वर्षीय शाही करिब ३३ महिना मलेसियामा मजदुरी गरेर गत असार ३२ गते नेपाल फर्किएका थिए। केही दिन सुर्खेतमा बसेर आफ्ना भाइबहिनी र छोराछोरीसँग समय बिताएपछि घरमा आमाबुवालाई भेट्न दैलेख जाँदै गरेका थिए।


उनका दाइ दिपक शाहीका अनुसार सुरेन्द्र साउन १० गते सुर्खेतबाट घर फर्किँदै थिए। तर, उनी सामान्यतया प्रयोग नगर्ने दैलेख बजारको बाटो हुँदै गएका थिए। त्यसै बाटोमा छामघाट खोलामा उनको शव भेटिएको हो।

“घाँटीमा डोरी कसेको जस्तो देखिन्छ, टाउँकोमा गम्भीर चोट छ,” दिपकले भने, “हाम्रा लागि यो प्राकृतिक मृत्यु होइन, प्रष्ट रूपमा हत्या हो।”

शव जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ। तर, आफन्तहरूले हत्या भएको पुष्टि नभएसम्म पोस्टमार्टम गर्न नदिने अडान लिएका छन्।

“हामी चाहन्छौं, सुरेन्द्रको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर मात्र पोस्टमार्टम होस्,” आफन्तको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। “आज पोस्टमार्टम हुनेछ, त्यसपछि घटनाको थप विवरण आउन सक्छ,” उनले भने।

सुरेन्द्रका एक छोरा र दुई छोरी छन्। छोरा र एक छोरी सुर्खेतको वीरेन्द्रनगरमा पढ्दै छन् भने अर्की छोरी दैलेखमा हजुरबुबाआमासँग बस्छिन्। उनका आफन्तहरूका अनुसार, सुरेन्द्र मलेसियामै रहँदा उनकी श्रीमतीले गाउँकै अर्का पुरुषसँग विवाह गरेकी थिइन्।

यस घटनाले परिवारमा नयाँ पीडा र शंका उत्पन्न गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय