बिहिबार , साउन १६, २०८२

भारतको बिहार राज्यस्थित नेपाल सीमावर्ती मोहची बनकटवा गाउँमा भएको एक अविश्वसनीय तर सत्य घटना अहिले सबैको ध्यान तानिरहेको छ।

२४ जुलाईको दिउँसो, ८ वर्षीय गोविन्द कुमार घरबाहिर खेलिरहेका थिए। त्यही बेला विषालु गोमन सर्पसँग उनको जम्काभेट भयो। हजुरआमा मतिसरी देवीका अनुसार, “उसले डराउनुको साटो सर्पलाई समात्यो र उल्टै टोकिदियो।”


सर्पको टोकाइपछि गोविन्द केहीबेरमै अचेत भए। उनलाई तुरुन्तै स्थानीय स्वास्थ्य केन्द्रमा लगियो र पछि बेतियास्थित सरकारी अस्पतालमा भर्ना गरियो। त्यही दिन सर्पले डसेका अर्का बालक पनि उपचारका लागि ल्याइएको चिकित्सकहरूले बताएका छन्।

बेतियाको मेडिकल कलेज अस्पतालका डा. कुमार सौरभका अनुसार, “सर्पले डस्दा वा मानिसले सर्प टोके पनि जोखिम हुन्छ, तर सर्पको टोकाइ बढी खतरनाक हुन्छ।”

उनले भने, “गोमन सर्पको विष न्यूरोटक्सिक हुन्छ, जसले स्नायुप्रणालीमा गम्भीर असर पुर्‍याउन सक्छ। तर मानिसले सर्प टोकेको अवस्थामा विष पाचननलीबाट बाहिर जान सक्छ।”

तर यदि मुख वा पेटमा घाउ भएको खण्डमा विष रक्तसञ्चारमा मिसिएर घातक असर गर्न सक्ने सम्भावना पनि उनले औंल्याए।

सौभाग्यवश, गोविन्द अहिले पूर्णरूपमा स्वस्थ छन्। चिकित्सकहरूले पनि उनको साहसिकताको प्रशंसा गरेका छन्। तर विज्ञहरू भन्छन्— “सर्पसँगको सामना कहिल्यै खेलौना होइन, यस्तो अवस्थामा तुरुन्त चिकित्सा सहायता लिनु नै उचित उपाय हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय