
धेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मंगलबार अभियोगपत्र पेश गरिएको हो।
साउन ४ गते पक्राउ परेका झाविरुद्ध २३ वर्षीया युवतीले बलात्कारको गम्भीर आरोप लगाएकी हुन्। युवतीका अनुसार, २०७८ सालमा विराटनगरमा चिनजान भएको सम्बन्ध पछि अहिराज बानेश्वरस्थित डेरामा आउजाउ गर्न थालेका थिए।
पीडितले जाहेरीमा उल्लेख गरेकी छन्, “जेठ ४ गते दिउँसो म एक्लै भएको मौका छोपेर जबरजस्ती डेरामा आएर ढोकाको चुकुल लगाइ मुख थुनेर बलात्कार गर्नुभयो। हल्ला गरेमा ‘तेरो बेइज्जत हुन्छ’ भन्दै घाँटी र मुख थिच्नुभयो।”
झाले आफूलाई बलात्कार गरेपछि “पैसा र पावर हुने कै कानुन हुन्छ” भन्दै डरधम्की दिएको पनि जाहेरीमा उल्लेख गरिएको छ। “तँ मधेसी परिवारको छोरी होस्, कसैलाई भनिस भने तँलाई कसैले बिहे गर्दैन,” भन्दै पटक–पटक दवाव दिएको पीडितको भनाइ छ।
पूर्वप्रदेश प्रमुख झा २०७७ फागुनमा प्रदेश प्रमुख नियुक्त भएका थिए। पीडित र झा परिवारबीच पुरानै पारिवारिक सम्बन्ध रहेको र झा काठमाडौं आउँदा बानेश्वरमा पीडितकै घरमा बस्ने गरेको खुलेको छ।
अब अभियोग प्रमाणित भएमा झालाई ७ देखि १० वर्षसम्म कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने मागसहित सरकारी पक्षले मुद्दा अघि बढाएको छ।