
नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा पक्षबीचको आन्तरिक शक्ति संघर्ष अहिले थप पेचिलो बन्दै गएको छ। यो विवाद पार्टीको सांगठनिक तहदेखि भ्रातृ संगठनसम्म फैलिँदै गइरहेका बेला कार्यकर्ताहरुबीच भौतिक आक्रमणसम्म उत्रन थालेका छन्।
ताजा घटना कञ्चनपुरमा भएको हो। अखिल (क्रान्तिकारी)को उपमहासचिवमा पराजित उम्मेदवार भुवनसिंह बिष्टले निर्वाचित उपमहासचिव रामचन्द्र भट्टराईमाथि आक्रमण गरेका छन्। भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत हुन्। माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा बसेको बैठकका क्रममा विवाद चुलिँदा बिष्टले ढुंगा प्रहार गरेका थिए। घटना स्थलको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
ढुंगा प्रहारबाट घाइते भएका भट्टको उपचार काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भइरहेको छ। उनको अवस्थाबारे जानकारी लिन सोमबार उपमहासचिव जनार्दन शर्मा स्वयं अस्पताल पुगेका थिए।
यो घटनालाई लिएर शर्मा पक्षीय नेताहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले प्रचण्ड समूहले प्रतिशोध साँध्न भौतिक आक्रमणको रणनीति अख्तियार गरेको आरोप लगाएका छन्। जनार्दन शर्मा पार्टीभित्र विधि र पद्धतिका पक्षमा उभिँदै आएका छन्, जसले गर्दा उनी अहिले सत्तारूढ गुटको निशानामा परेका छन्।
उता, माओवादी केन्द्र कञ्चनपुरले भने आक्रमणकारीको रूपमा आरोपित रामचन्द्र भट्टराईलाई नै पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने निर्णय गरेको छ। जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट र संयोजक खेमराज पाण्डेले जारी गरेको विज्ञप्तिमा भट्टलाई कारबाही गरिएको उल्लेख गरिएको छ।
पार्टीभित्रको यो प्रकारको आन्तरिक द्वन्द्वले नेतृत्व तहमै चुलिएको गुटबन्दी अब हिंसात्मक मोडमा गएको स्पष्ट देखिएको छ। विश्लेषकहरूका अनुसार, यो घटनाले माओवादी केन्द्रभित्र शुद्धिकरणको बहसभन्दा पनि गुटगत दहमा दलिन लागेको संकेत दिन थालेको छ।