
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन बनेका उर्मिला हायूको परिवारले साउन १० गते मध्यरातमा घर छाडेर निस्किएको खुलासा भएको छ। ती परिवारका १६ सदस्यको बेपत्ता भएको खबर सार्वजनिक भएपछि व्यापक खोजी सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिलाको परिवार रातको १ बजे घरबाट निस्किएको थियो।”ईभी चालक जीवनसँगको बयानअनुसार उनीहरू सिधै खनियाँखर्क–हेटौंडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए,” एसपी सुवेदीले बताए।
उक्त परिवारलाई मधेश प्रदेश ०४-००१ ज ००८१ नम्बरको इलेक्ट्रिक भ्यानमा चालक जीवन भनिने नविन विकले पोखराको लेकसाइडस्थित जननी होटलमा पु-याएका थिए।होटलमा एक रात बसेपछि उनीहरू पोखराको गगनगौँडा भन्ने ठाउँमा पुगेका थिए।
त्यहाँ स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर आफूहरू ज्यामी काम गर्न आएका भन्दै शरण लिएका थिए।
हालसम्म उनीहरूले किन एक्कासि राति घर छाडे भन्ने बारेमा स्पष्ट खुल्न बाँकी नै छ।“प्रहरीले थप सोधपुछ गरेपछि मात्र घर छाड्नुको मूल कारण खुल्नेछ,” सुवेदीले जानकारी दिए।उनीहरूले स्वास्थ्य समस्या, कामको अभाव, दुर्गम बासस्थानलगायतका कारण पोखरा बस्न खोजेको प्रारम्भिक रूपमा बताएका छन्।
सम्पर्कविहीन भएपछि सिन्धुली, रामेछाप र कास्की जिल्लाको प्रहरी, प्रशासन र स्थानीय प्रतिनिधिहरू परिचालित भएका थिए।उनीहरूको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमन्दीछापमा देखिएको थियो।त्यसपछि रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा प्रहरी टोली हायू समुदायका हरेक घरमा पुगेर खोजीमा जुटेको थियो।
रामेछाप नगरपालिका–९ को सेलेघाटदेखि उर्मिलाको माइतीघर समेत खनखनी खोजिएको थियो।तर, सिन्धुली र रामेछापको सम्पूर्ण प्रयासपछि पनि उनीहरू पोखराकै गगनगौँडामा फेला परेका हुन्।पोखरामा भेटिएपछि प्रहरीले उनीहरूलाई धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको छ।वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।