बिहिबार , साउन १६, २०८२

यमन सरकारले हत्या अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रियाको सजाय अन्ततः रद्द गरेको छ।

सानामा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको भारतीय धार्मिक अगुवा ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारको कार्यालयले सोमबार राति जानकारी दिएको हो। तर भारतीय विदेश मन्त्रालयले भने औपचारिक रूपमा यसबारे पुष्टि गरेको छैन।

शरिया कानूनअन्तर्गत भयो सहमति
सजाय रोक्नका लागि भारतीय ग्रान्ड मुफ्ती मुसलियार र यमनका सुफी विद्वान शेख हबीब उमर बिन हाफिजबीच जुलाई १५ मा वार्ता भएको थियो। सोही वार्तामा यमनको सर्वोच्च अदालतका न्यायाधीश र मृतक महदीका भाइ पनि सहभागी थिए।

शरिया कानुनअनुसार, हत्या पीडितका परिवारले दोषीलाई ब्लड मनीको सट्टा वा निःशर्त माफी दिन सक्छन्। वार्ताको सकारात्मक परिणामस्वरूप मृतकका परिवार सहमत भएका र त्यसकै आधारमा सजाय रद्द गरिएको जनाइएको छ।

यस्तो छ घटनाक्रम
केरलाकी ३७ वर्षीया निमिषा सन् २००८ मा नर्सको कामका लागि यमन पुगेकी थिइन्। पछि उनले राजधानी सानामा आफ्नै क्लिनिक खोलिन्। तर यमनको कानुनअनुसार विदेशी नागरिकले स्थानीय साझेदारबिना व्यवसाय गर्न नपाउने भएकाले उनले महदी नामक यमनी नागरिकलाई पार्टनर बनाएकी थिइन्।

महदीले निमिषालाई मानसिक तथा शारीरिक रूपमा दुर्व्यवहार गर्न थालेपछि सम्बन्ध बिग्रियो। राहदानी खोसिएको, पैसा हडपिएको र घर फर्कन नदिएको आरोप पनि निमिषाले लगाएकी थिइन्।

सन् २०१७ मा राहदानी फिर्ता लिने प्रयासमा निमिषाले महदीलाई बेहोस बनाउने औषधि दिइन्। तर त्यसको ओभरडोजले महदीको ज्यान गयो। घटना लुकाउन उनले शवलाई टुक्रा पारेर पानीट्यांकीमा फ्याँकेको यमनी प्रहरीले जनाएको थियो।

सन् २०१८ मा निमिषालाई मृत्युदण्ड सुनाइएको थियो। उनले विभिन्न अदालत र राष्ट्रपतिकहाँ क्षमायाचना गरिन् तर असफल भइन्। जुलाई १६ मा मृत्युदण्ड कार्यान्वयनको तयारी भइरहँदा एक दिनअघिको वार्ताले सजाय अस्थायी रूपमा रोकिएको थियो।

अब के हुन्छ?
सजाय रद्द भएसँगै निमिषाको मृत्युदण्डबाट ज्यान जोगिएको छ। तर उनले अझै कति समय यमनको जेलमा बस्नुपर्छ वा उनी भारत फर्कन पाउनेछिन् भन्ने विषयमा थप निर्णय आउन बाँकी छ।

भारत–यमनबीचको धार्मिक र कूटनीतिक प्रयासले निमिषाको जीवन जोगिएको छ। साथै, यो घटनाले विदेशी भूमिमा काम गरिरहेका महिला कामदारहरूको सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय