
केही दिनदेखि सम्पर्कविहीन रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का हायू परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडामा सुरक्षित रूपमा फेला परेका छन्। उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, नियन्त्रणमा लिइएका सबैले आफूहरू मजदुरी (लेबर) गर्न पोखरा आएको बताएका छन्। उनीहरू गगनगौडाका स्थानीय चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसिरहेको अवस्थामा भेटिएका हुन्।
“काम गर्न यतातिर आएको भन्दै उनीहरू स्थानीय घरमा बसेका रहेछन्,” एसपी ओलियाले भने, “अहिले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया चलिरहेको छ।”
प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको खुलेको छ। उनीहरूले सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर पोखरा आएको जनाइएको छ। पोखरा आइसकेपछि एक रात मात्र होटल जननीमा बसेका उनीहरू आइतबार चेकआउट गरी स्थानीयको घरमा सरेका थिए।
“१४–१५ दिन बस्ने योजना बनाएका रहेछन्,” ओलियाले बताए, “होटलबाट निस्किएको भोलिपल्टै उनीहरू गगनगौंडामा फेला परेका हुन्।”
यसअघि उनीहरू बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीय प्रशासन सक्रिय भएको थियो। अब उनीहरूको थप अभिव्यक्ति र अवस्था अनुसार कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।