
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सामूहिक रूपमा बेपत्ता भएका हायू समुदायका १५ जना सदस्य पोखरामा दुई फरक स्थानमा बसेको खुलेको छ। कास्की प्रहरीले दिएको जानकारीअनुसार उनीहरूमध्ये १२ जना लेकसाइड हल्लनचोकस्थित होटेल जननी मा, बाँकी ४ जना पोखरा–३२, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, १२ जनाले शनिबार होटेल जननीमा तीनवटा कोठा लिएर बसेका थिए। आइतबार बिहान उनीहरू होटलबाट चेक आउट गरेका थिए।
त्यही क्रममा अन्य ४ जना भने गगनगौँडामा रहेको एक घरमा बसेको पत्ता लागेको हो। उनीहरू चन्द्र भण्डारी नामका व्यक्तिको घरमा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
हाल प्रहरीले दुवै स्थानमा टोली खटाएको छ र सम्पर्कमा आएका सबैको अवस्थाबारे जानकारी लिने प्रक्रिया अगाडि बढाइएको छ। यिनीहरू किन सिन्धुलीबाट पोखरा पुगे, किन सम्पर्कविहीन भए भन्ने विषयमा अनुसन्धान जारी छ।